ललितपुर। नेपालमा एक सिंगे गैँडाको सङ्ख्या ७५२ पुगेको छ। जसमध्ये चितवनमा मात्रै ६९४ गैँडा रहेका छन् ।
चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडाको गणना चितवन राष्ट्रिय निकुञ्जमा सकिएपछि शनिवार नतिजा सार्वजनिक गरिएको हो।
वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दीपक खरालको उपस्थितिमा निकुञ्जले गैँडा गणनाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको हो।
पछिल्लो पटक सन् २०१५ मा गैँडाको गणना गरिएको थियो। सो गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैँडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैँडा भेटिएका थिए।
पर्सा राष्ट्रिय निकुञ्जमा ३, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा भेटिएका छन्।
नेपालमा भेटिएका गैँडाहरू मध्ये १४६ वटा भाले र १९८ वटा पोथी रहेका छन्।
चितवन निकुञ्जका अनुसार ४०८ वटाको लिङ्ग पहिचान भएको छैन । यस पटक भेटिएका गैँडामा ५२० वटा वयस्क, ९६ वटा अर्ध वयस्क र १३६ वटा केटाकेटी रहेका छन् ।