बलेवा। जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको हो ।

गत वर्ष शुरुआत भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झण्डै ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी ती आयोजना निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । साविक रेश गाउँविकास समितिको वडा नं ५, ६ र ७ को अधिकांश जमिनमा सिँचाइ पुग्ने गरी ३.५ किलोमिटर देउराली सिँचाइ आयोजना निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झण्डै २०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने स्थानीय अगुवा ओमबहादुर थापाले बताए । यो आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । रेशखोलाबाट पानी ल्याउने गरी निर्माण भएको यो आयोजना आगामी असार मसान्तसम्म सबै काम सकिने छ ।

साङ्खोलाको पानी किसानको खेतबारीमा पुग्ने गरी रेशमा अर्को ठूलो आयोजना डोटासाङ खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । एक किलोमिटर लामो सिँचाइ आयोजना गत आर्थिक वर्षमा ४०० मिटर र चालु आर्थिक वर्षमा ६०० मिटर निर्माण गरिएको हो । चालिस हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिँचाइ पु¥याउन गण्डकी प्रदेश सरकारको रु ५४ लाख अनुदानमा आयोजना निर्माण भएको हो ।

काठेखोला गाउँपालिकाको रु ५० लाख अनुदानमा साङ्खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठूलो फाँटका लागि बनाइएको यो आयोजनाबाट २०० हेक्टर जमिनमा सिँचाइ हुनेछ । आठ सय मिटर लामो कुलो यसै आवमा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिँचाइ आयोजना र सिम्ले सिंचाई आयोजना निर्माण गरेको छ । झण्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाको लागि वडा कार्यालयले रु सात लाख खर्चेको छ ।

“खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अब हट्ने छ”, स्थानीय युवराज गौतमले भने, “रेशमा यो वर्ष बनेका सिँचाइ आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।” पानीको प्रसस्तै स्रोत रहेको रेशमा सिँचाइ कुलोको अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिँचाइ आयोजना बनेपछि हिउँदको समयमा खेतबारी हराभरा हुने अध्यक्ष लामिछानेले बताए । “अब रेशको तल्ला फाँटमा तीनखेती हुन्छ, माथिल्लो भूभागमा तरकारी उत्पादन बढ्छ”, उनले भने, “हामीले लामो प्रयासपछि वडाका अधिकांश भागमा पुग्ने गरी सिँचाइ आयोजना बनाएका छौँ ।” वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पु¥याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ । रासस