ललितपुर। काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने बाग्मतीप्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताए ।

किसानहरु क्रान्तिका आधारभूत वर्ग रहेकोले किसान संगठन पार्टी र क्रान्तिको आधारभूत जनवर्गीय संगठन भएको बताउँदै संगठनको अत्यन्तै ठुलो महत्व रहेको जिकिर उनले गरे । संगठनको व्यापक परिचालन गरी, गाउँगाउँमा किसान संगठन निर्माण गरिने र किसानहरुको समस्या समाधान गर्नका लागि देशव्यापी संघर्ष गरिने पनि उनले बताए ।

किसान नेता श्रेष्ठका अनुसार, किसान संगठन एकतापुर्ण रुपमा हिजो पनि सुव्यवस्थित तथा सशक्त भएको र नेकपा एकीकृत रहँदा किसानपक्षीय कामहरु गराउनका लागि निरन्तर दबाब दिइएको जिकिर उनले गरे । किसान विरोधी सरकारी गतिविधि तथा कार्यक्रमको विरुद्ध जोड्दार ढंगले उठाएको पनि उनले थपे । प्रधानमन्त्री केपी शर्मा ओली किसान विरोधी रहेको र सरकारमा रहेर किसानको पक्षमा कुनै काम गर्न नसकेकोसमेत आरोप लगाए ।

बाग्मतीप्रदेश स्तरमा भएका किसानका समस्याहरु, किसानसंगठन तथाआन्दोलनको स्थिति, किसानका समस्याहरु र समाधानका उपायहरुबारे बहस छलफल गर्ने र नयाँ योजनातयार गर्ने उद्देश्यका साथदुई दिने भेलातथा प्रशिक्षण आयोजना गरिएको महासंघले जनाएको छ ।

दुई दिने भेला तथा प्रशिक्षणमा पहिलो दिन सबै जिल्लामा वास्तविक संगठनात्मक स्थितिबारे रिर्पोटिङ हुने र दोस्रो दिन प्रमुख प्रशिक्षकको रुपमा नेकपा (माओवादी केन्द्)०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख नहेन्द्र खड्काले जानकारी दिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का बाग्मतीप्रदेश संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गणेश कुँवरले गरेका थिए ।