जुम्ला। शिखर इन्सुरेन्स कम्पनी शाखा जुम्लाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ । किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्सुरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताए ।

उनले भने, “जुम्ला, कालीकोट र मुगुमा एक हजार ४१२ किसानले बीमाको क्षतिपूर्ति पाएका छन् । जुम्ला ७४७, कालीकोट ३४७ र मुगुमा ३०० स्याउ किसान बीमित भएका थिए ।” स्याउको बिरुवा बीमा गरिएअनुसार क्षतिपूर्ति वितरण शुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिए।

जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पु¥याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नु परेका किसान क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । प्रतिबिरुवा रु २७० का दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्सुरेन्सले जनाएको छ ।

यस वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जुम्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज बिष्टका ७०० बिरुवा बीमा गरिएको थियो । उनले स्याउमा फल नलागेपछि बीमा गरेबापत एक लाख ८९ हजार प्रदान गरेको इन्सुरेन्सले जनाएको छ ।

पाँच सय बिरुवाको बीमा गरेबापत देवी सेजुवालले रु. एक लाख ३५ हजार पाएका छन् । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बीमा गरेर क्षति भएबापत रु एक लाख ३५ हजार रकम नै प्राप्त गर्नुभएको छ । बीमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ । किसान अधिराज बिष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बीमाले थोरै राहत गरेको बताए ।

रु. एक सयमा यहाँका किसान स्वयंको दुर्घटना बीमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु भएका कारण रु. दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब शिखरले पशु र घरको बीमा पनि शुरु गर्ने लक्ष्य लिइएको छ । रासस