हेटौंडा। बाग्मती प्रदेश राजधानी हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरू गरिएको छ । प्रदेश सरकारको रू. ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौंडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो । प्लान्टले बाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउन सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सृजना गरेसँगै किसानले धेरै गाई, भैंसीपालना गरेर रोजगारी पनि सृजना हुनेछ ।
उक्त प्लान्टबाट बाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र बाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिकटन धूलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले बताएको छ ।
पाउडर प्लान्टका लागि महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आपूर्ति गर्न सकिनेछ । प्रदेश दुग्ध विकास बोर्डद्वारा निर्माण गरिने उक्त भवन करीब डेढ वर्षभित्रै निर्माण सम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको प्रदेश कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले बताएको छ ।
प्लान्टबाट दैनिक ६० हजार लिटर दुधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य छ । चालू आर्थिक २०७७/७८ वर्षको पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फ्रा प्रालिले एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम थालेको थियो । कम्पनीले रू. ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरिएको प्लान्टको निर्माण रू. ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । रासस