वीरगञ्ज। जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाएका छन् ।

यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो ।

चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । उनले अघिल्लो वर्ष मेसिनबाट मकै रोप्दा सबै खर्च कटाएर चार लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर उनले साढे चार बिघा क्षेत्रफलमा मेसिनबाट खेती गरेका हुन् ।

परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोघा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका १० किसानले यस वर्ष करीब ३० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा मकैखेती गरेका छन् ।

त्यस भेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५ र शंकर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेसिनले पहिलो पटक तीन बिघा क्षेत्रफलमा मकैखेती गरेका किसान नीरञ्जन चौधरीले भने, ‘चारपांग्रे ट्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरणले मानिसले भन्दा व्यवस्थित रुपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ । एक जना ट्याक्टर चालकले मेसिन चलाएर मकै रोपेपछि विषाधि छर्न लाग्ने मजदूरबाहेक अन्य मजदूर नलाग्ने, खर्च बचत हुने भएकाले मेसिनबाट मकै रोपेको उनले बताए ।

मकैको बीउ रोप्नु अघि कल्टिभेटर र रोटाभेटर मेसिनबाटै खेत जोतेको र ल्याण्ड लेभलर मेसिन चलाएर पल्ट मिलाउँदा समय र खर्च कम लागेको भन्दै अर्का किसान सहदेव चौधरीले भने, ‘मेजप्लान्ट मेसिन सिफारीस गरेको कृषि अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्राले चीनबाट खरीद गरी ल्याएको मेसिनको परीक्षणपछि प्रयोग गर्दा मकै खेती राम्रो हुन थालेको छ ।’

‘परीक्षणपछि उक्त मेसिन किसानको लागि बरदान र अत्यन्तै उपयोगी सावित भएपछि उक्त मेसिनको अत्यधिक प्रयोग हुन थाल्यो, वरिष्ठ वैज्ञानिक मिश्रा भन्छन्, ‘यो मेसिनको प्रयोगले मकै बाली राम्रो हुन थालेपछि अहिले बारा जिल्लामा करीब ३० बिघा क्षेत्रफलमा किसानले मेसिन प्रयोग गरी व्यावसायिक रुपमा मकै खेती गरिरहेका छन् ।’

कृषि मजदूरको बढ्दो अभावका कारण किसानलाई समस्या हुँदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मेहनेत, झन्झट बढी हुने भएकोले किसानलाई यान्त्रिकीकरणतर्फ अभ्यस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरीद गर्दा बजार मूल्य करीब रू। दुई लाख ५० हजार पर्न आउने भए पनि बारामा गत वर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिक रुपमा मकैखेती गरी आर्थिक लाभ लिन थालेका छन् ।

कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जसँग जोडिएर २०५६ सालदेखि कृषियन्त्र प्रयोग गरी खेती गर्दै आइरहेका वीरगञ्ज महानगरपालिका–२६ सुगौली विर्ताका किसान नेमिलालप्रसाद साहले भने, ‘मेशिनबाट खेती गर्दा उत्पादन बढी लिन सकिए पनि बजारको अभावमा ती उत्पादित सामान बेच्न समस्या हुने गरेको बताए ।’ रासस