बलेवा। ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ ।

हिउँदे बालीका लागि हिउँको महत्व बढी छ तर यो वर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँलगायत फसल थोरै फलेको छ ।

‘अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ’, ढोरपाटन नगरपालिका–९ का गोविन्द पुनले भने , ‘खेतीपाती राम्रो नभएपछि किसानलाई मर्का परेको छ ।’

हिउँ नपरेको वर्ष आलु, स्याउलगायत बाली पनि नराम्रो हुने उनले बताए ।

ढोरपाटनका किसानले फाँपर पनि लगाउने गर्छन् । पानी अभावले उत्पादनमा ठूलो क्षति पुग्ने किसानले गुनासो गरेका छन् ।

हिउँ अभावमा ढोरपाटनकै गार्पाखोला लघुजलविद्युत् आयोजनाबाट बिजुलीसमेत पर्याप्त उत्पादन हुनसकेको छैन ।

ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा रहेको यो आयोजना ४० किलोवाट क्षमताको हो । अघिल्लो वर्ष पटकपटक हिउँ परेकोमा गत फागुन पहिलो साता एक दिन मात्र हिउँ परेको थियो ।

उक्त हिउँ पनि दुईचार दिनमै पग्लने खालको भएको स्थानीयवासीले बताएका छन् । उक्त आयोजनाबाट यसवर्ष पानी अभावले उत्पादन घटेको गार्पाखोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका सचिव कमल भण्डारीले बताए।

‘कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको छ’, भण्डारीले भने , ‘हिउँ परेको वर्ष चैत वैशाखसम्म पनि हिउँ पग्लेर पानीको मात्रा बढी हुन्थ्यो, अहिले छैन ।’

पानी अभावले विद्युत् नपुग्दा साँझको समयमा बिजुली जाने समस्या भएको उनले बताए ।

उनका अनुसार हिउँदमा २० किलोवाट मात्रै उत्पादन भएको छ । यो उत्पादनले ढोरपाटन उपत्यकालाई बिजुली पुग्दैन ।

जलविद्युत्बाट ढोरपाटन उपत्यकाभित्रका भण्डारी गाउँ, पाखाथर, नौथरलगायत गाउँका ३५० घरधुरी, ढोरपाटन शिकार आरक्ष कार्यालय, नेपाली सेनाको शत्रुमर्दन गुल्म ब्यारेकमा बिजुली बाल्ने गरिएको छ ।

आंशिक रुपमा उत्पादन भएको यस विद्युत्ले सबै घरधुरीमा एक साथ पु¥याउन नसकिएको हो । आयोजनाबाट टोलअनुसार फरकफरक समयमा बिजुली वितरण गर्दा मोबाइल चार्ज गर्ने र अन्य कामका लागि समस्या परेको स्थानीयवासी शिक्षक चकबहादुर अदैले बताए ।
‘बिजुली अभावले फोन नलाग्ने र साँझमा उज्यालो बनाउन समस्या परेको छ’, अदैले भने ,

यसको ठूलो असर विद्यार्थीलाई परेको छ ।’ साँझ बिहान पढ्न नपाएर विद्यार्थीले सास्ती खेप्नु परेको उनले बताए।