दार्चुला। उखु व्यवसाय पछिल्लो समय कम हुँदै गएको छ । उखु उत्पादनमा कम र माग बढ्दै गएपछि कृषि ज्ञान केन्द्रले जिल्लाका तीनवटा स्थानीय तहमा उखु प्रवद्र्धन गर्ने लागेको हो ।

नगदे बालीअन्तर्गत पर्ने उखु खेती तराईमा व्यवसायिकताका साथ गरिन्छ । पहाडमा त्यसरी गरिँदैन् । पहाडमा अहिले पनि परम्परागत विधिको रुपमा उखु खेती गरिँदै आएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवद्र्धन गर्न लागिएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिए ।

यसका लागि केन्द्रले आर्थिक वर्षको लागि झण्डै रु. ८ लाख बजेट विनियोजन गरिएको जनाएको छ । उनले भने, “दार्चुलेली गुडलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पु¥याउने उद्देश्यले आर्थिक वर्षबाट उखु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिन लागेको हो । ”

जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो रु एक सयदेखि १५० सम्म सजिलै बिक्री हुने गर्दछ । गुड खासगरी चैत महिनामा बढी खपत हुने गरेको छ । परम्परागत रुपमा उखु पेलाइहुँदै आएको ज्ञान केन्द्रले विद्युतीय मेसिन खरीद गर्ने तथा अन्य उपकरण खरीद गर्नका लागि रकम विनियोजन समेत गरेको छ । जिल्लामा हालसम्म पनि आगोमा पकाएर तयार पारिएको गुड विद्युत्तीय भट्टिमा पकाएर तयार पारिएको गुड भन्दा स्वादिष्ट हुने गरेको छ ।

पहाडको गाउँमा चिनीको प्रयोग बढेको तथा युवामा विदेश मोह पलाएको कारण विगतको तुलनामा अहिले उखु खेतीप्रतिको लगाव घट्दै गएको उखु किसानले बताएका छन् ।

परम्परागत विधिबाट तयार पारिएको गुड स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । अहिले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा उखु पेलेर गुड निकाल्ने काम शुरु भएको छ । गुड बनाउन मेहनत बढी लाग्ने गरेका कारण पनि महँगो हुँदै गएको मालिकार्जुनका स्थानीयवासी धनसिंह धामीले बताए ।

उनले भने, “मेहनत अनुसार अझै मूल्य आउँदैन् । बढी मेहनत छ तर लगानी कम असुली हुने गर्छ । समय निकै लाग्छ ।” श्रमअनुसार गुड बिक्रीबाट आम्दानी नहुने गरेको कारण किसानले आफूलाई खानलाई मात्र उखुखेती गर्ने र गुड बनाउने गरेका छन् । यहाँ उत्पादन हुने गुड गर्मी मौसममा खानलाई राम्रो मानिन्छ ।रासस