सिरहा। एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका छन् ।
फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे ।
इन्टरप्राइजेजका सञ्चालक जय साहले माछाको सबै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) दिएको र त्यही औषधि प्रयोग गरेको २४ घण्टा नबित्दै माछा धमाधम मरेको उनको भनाइ छ ।
करिब दुई महिनाअघि मात्र यादवले सो पोखरी रु. आठ लाखमा तीन वर्षका लागि ठेक्का लिएका छन् । ठेक्का लिएलगत्तै हालेको विभिन्न प्रजातिका लाखौँ मूल्य बराबरका माछा सखाप भएको यादवले बताए । यता इन्टरप्राइजेजका सञ्चालक साहले आफ्नो औषधिले माछा नमरेको जिकिर गर्दै आएका छन् ।रासस