पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ ।

गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा रु एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो ।

गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो ।

गाउँपालिकाले ४० मुरी वा सोभन्दा बढी धान फलाउने तथा कम्तीमा २० फिट लम्बाइ र चार फिट चौडाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई उक्त पुरस्कार प्रदान गरेको हो । कृषक प्रोत्साहन कार्यविधिअनुसार यतिका कृषि उपज एकै परिवारले उत्पादन गर्नुपर्ने व्यवस्था थियो ।

कृषि उपज उत्पादनको मात्रा वृद्धि गर्न गाउँपालिकाले तय गरेको नीतिअनुसार पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए।

पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् ।

मकै उत्पादकतर्फ वडा नं १ का तीन, वडा नं २ का चार, वडा नं ३ का १०, वडा नं ५ का तीन, वडा नं ६ का पाँच, वडा नं ७ का सात र वडा नं ८ का २७ कृषकले पुरस्कार पाएका हुन् ।

यस्तै धान उत्पादकतर्फ वडा नं २ का सात, वडा नं ३ का १४, वडा नं ४ का १४, वडा नं ५ का १८, वडा नं ६ का सात र वडा नं ७ का सात कृषकले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए।

कोभिड–१९ सङ्क्रमणको महामारी र बन्दाबन्दीसँगै कृषकलाई कृषि उपज उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिकाले मापदण्ड तय गरी पुरस्कार दिने नीति लिएको थियो ।

गत वैशाख अन्तिम साता बसेको गाउँ कार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरू परम्परागत बालीका रूपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए ।

एकै परिवारले भाडा वा अन्य शर्तमा अर्काको जमिनमा तोकिएको मात्रामा धान र मकै उत्पादन गरे पनि पुरस्कार दिने गाउँपालिकाको निर्णयले कृषकलाई हौस्याएको थियो ।

गाउँपालिकाले ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णयसमेत गरेको थियो । उक्त मापदण्डानुसारका दाबीको गाउँपालिकाको अनुगमन समितिले अनुगमन गरिरहेको बताइएको छ ।

वास्तविक उत्पादकले मात्रै पुरस्कार प्राप्त गर्ने व्यवस्थाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिक सम्मिलित अनुगमन टोली निर्माण गरेको थियो ।

नियमित अनुगमनमा तोकिएको मात्रामा अन्न उत्पादन गर्न सफल भएका कृषकलाई पुरस्कृत गर्न सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । आगामी आर्थिक वर्ष कृषक प्रोत्साहन पुरस्कारसम्बन्धी मापदण्डलाई थप परिमार्जित गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकलाई दोहोरो फाइदा भएको छ । पुरस्कार प्राप्त गर्न कृषक उत्पादन वृद्धिका लागि लागिपर्दा उनीहरुका परिवारलाई वर्षभरि खान पुग्ने अन्न उत्पादन भएको छ भने १२५ जनाले रु. एक लाख रकम प्राप्त गरेका छन् ।

एकैपटक रु एक करोड २५ लाख कृषकका हातमा पुगेको छ । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइको समेत राम्रो व्यवस्था छ तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । रासस