ललितपुर। चिनी उद्योगीबाट ऊखुको भुक्तानी नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।  गएको मंसिर २८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय नारायण राय यादव (भगत)को हृदयघातका कारण निधन भएको जनाइएको छ ।

उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको जानकारी दिए ।

सोमबार राति बिरामी परेका यादवलाई उपचारका लागि सुरुमा चाबहिलको हेल्पिङ ह्यान्डस् अस्पतालमा लगिएको र त्यहाँबाट रिफर गरेर सहिद गंगालाल अस्पताल पु¥याइएको उनले बताए ।

यादव मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । उनको परिवार अहिले काठमाडौं आउँदै गरेको मिश्रले बताए ।

यादव यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए ।

तर, भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेपछि उनलाई अचानक हृदयघात भयो । त्यसपछि गंगालाल हृदयरोग अस्पतालमा भर्ना भएका उनको त्यहीँ मृत्यु भएको हो ।

विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपैयाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए ।