भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्यमा गिरावट आएपछि भोजपुरका किसान मर्कामा परेका छन्। व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने बर्सेनि गिरावट आउन थालेपछि किसानहरु मर्कामा परेका हुन्।

विगतका वर्षहरुमा प्रतिमन (४० किलोको एक मन) २० देखि २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको चिराइतो यस वर्ष प्रतिमन ६ हजार रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ ।

विशेष गरेर १५ सय मिटरभन्दा माथिको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने विज्ञहरु बताउँछन्। भोजपुरमा उत्पादित चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीले बताए।

भोजपुरको अधिकांश माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ। टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिला लगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन्।