रुकुमपूर्व। यस वर्ष रुकुमपूर्वबाट ७० लाख रुपैयाँबराबर सुन्तला उत्पादन भएको छ ।

अनुमानित ४० लाख रुपैयाँबराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रुपैयाँबराबरको सुन्तला अझै बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए ।

सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

यस क्षेत्रमा गत वर्ष पनि ८० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन् ।

विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उनीहरुको भनाइ छ । सुन्तला राम्रो उत्पादन भए पनि सुन्तलाले बजार भने पाउन सकेको छैन ।

ढुवानी र बजार समस्या हुने गरेकाले सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन् । बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ ।

डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पुर्‍याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।

यस्तै, अर्का सुन्तला उत्पादक किसान गोपाल पुनले पनि सुन्तला उत्पादनबाटै ४ लाख रूपैयाँ आम्दानी गरेको जानकारी दिए ।

सुन्तला उत्पादनबाट राम्रो लाभ लिन सक्ने भए पनि पछिल्लो चरणमा भने विभिन्न रोगका कारण उत्पादनमा कमी आएको कृषक बताउँछन् ।

सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ । सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ ।