ललितपुर। आजबाट ललितपुरको जाउलाखेल मैदानमा १३ औं गोदाबरी फुलको प्रतियोगित प्रदर्शनी सुरु भएको छ । तिहार नजिंकिएसँगै फुलको व्यापार र प्रवद्र्धन गर्ने उद्धेश्यका साथ फुलको प्रदर्शनी सुरु गरिएको आयोजकले जनाएको छ ।

गोदावरी फुलको प्रतियोगितात्मक मेलामा विभिन्न जातका फुलहरु प्रदर्शनीमा राखिएको छ । मेलाको कृषिमन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका छन् ।
मेलामा ४९ ओटा विभिन्न फुलका स्टलहरु राखिएका छन् । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्धारा फुलको मेला आयोजना गरिएको हो । मेला उद्घाटन गर्दै कृषिमन्त्री चक्रपाणी खनालले पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेको भएपनि अपेक्षाअनुसार गति लिन नसकेको भन्दै उनले पुष्प व्यवसायको प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत र लगानीलगायत विषयसहितको प्रस्ताव लिएर आउन फयानसँग आग्रहसमेत गरेका छन् । उनले भने– पुष्प व्यवसायको प्रवद्र्धनका लागि सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्दा उपयुक्त हुन्छ वा केन्द्रमार्फत नै काम गर्न सकिन्छ, के गर्दा राम्रो हुन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर आउनुहोस्, मन्त्रालय तत्काल प्रक्रिया अघि बढाउन तयार छ, बजेटको खासै समस्या हुुने म देख्दिन ।

जावलाखेलको पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँबराबरको कारोबार अपेक्षा रहेको बताए ।

यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।












