बाँके। विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र वैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो ।

स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर)को आर्थिक सहयोगमा कोहलपुर र वैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो ।

जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ ।सेन्सरबाट प्राप्त सूचनालाई अध्ययन गर्दै सोही कक्षबाट विपद्सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडीआरका निर्देशक डा. चेङ होङले जानकारी दिए ।

उनकाअनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ । सेन्सरले विपद्सम्बन्धी सबै सूचना सङ्कलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ ।

मोबाइल एप्लिकेसनमार्फत मोबाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ ।

करीब तीन महीना लगाएर दुई स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुबान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका छ स्थान र वैजनाथ गाउँपालिकाकाका छ स्थानमा सेन्सर जडान गरिएको प्रमुख रावतले बताए ।

वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।

सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र वैजनाथ गाउँपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसीडीआरसँग सहमति गरेका थिए ।