
ललितपुर। साउन तेस्रो साता सम्म मुलुकभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुशार गतवर्षको तुलनामा यस वर्ष धान रोपाई तीन प्रतिशतले कम भएको छ । गत वर्ष यही अवधिमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
सवै भन्दा धेरै सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९५.३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी १ नम्बर प्रदेशमा ८०.१३ प्रतिशत, २ नम्बर प्रदेशमा ८१.१९ प्रतिशत, ३ नम्बर प्रदेशमा ८८.६७ प्रतिशत, गण्डकी प्रदेशमा ८६.५९ प्रतिशत, ५ नम्बर प्रदेशमा ८८.८६ प्रतिशत र कर्णाली प्रदेशमा ९४.१० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा ८८.८४ प्रतिशत, मध्य पहाडमा ८६.६५ प्रतिशत र तराइमा ८५.६३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
नेपालमा कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये हालसम्ममा कुल ११ लाख ७९ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । १ लाख ९२ हजार १८ हेक्टर क्षेत्रफलमा अझै रोपाइँ हुन बाँकी छ । गत वर्ष यहि अवधिमा भने १२ लाख २९ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । गत वर्षभन्दा यो वर्ष ४९ हजार ६ सय ४७ हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको छ ।
११ जिल्लामा सतप्रतिशत रोपाइँ सम्पन्न :
मन्त्रालयको अनुसार कुल रोपाइँ भएको मध्ये ११ वटा जिल्लामा सतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, रोल्पा, रुकुम पूर्व, प्युठान, जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्लामा सतप्रतिशत रोपाइँ सम्पन्न भएको हो ।