हेटौंडा। प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ ।

कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पशु अनुदान शीर्षकअन्तर्गत रु ६ करोड ५२ लाख वितरण गरेको जनाएको छ । पशु व्यवसाय विकास तथा विस्तारका लागि मन्त्रालयले प्रदेशअन्तर्गत पर्ने १३ वटै जिल्लाका किसानलाई निश्चित कार्यविधि बनाएर अनुदान रकम वितरण गरेको हो ।

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ वटा सहकारीमा रु एक करोड पचास लाख वितरण गरेको जनाएको छ । जसमा चितवनको ७४, मकवानपुर, काभ्रे र ललितपुरको २२/२२, दोलखाको दुई, धादिङ र नुवाकोटको एक/एक वटा सहकारी छन् ।

मन्त्रालयकी पशु विकास शाखा अधिकृत डा सबिना मिश्रका अनुसार मन्त्रालयले चितवन, दोलखा र मकवानपुरमा तीनवटा दाना उद्योग सञ्चालनका लागि रु एक करोड ६५ लाख ५४ हजार अनुदान वितरण गरिएको बतानुभयो ।

मन्त्रालयले चितवन, ललितपुर र हेटौँडामा तीनवटा पशु बधशाला निर्माणका लागि पनि बजेट दिएको छ । तीन जिल्लामा बधशालाका लागि रु एक करोड पचास लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रदेशभर १३ वटा पशु बधस्थल निर्माणका लागि रु ८६ लाख ७६ हजार खर्च भएको छ । प्रदेश मन्त्रालयले चितवन र धादिङमा तीन्तीन, सिन्धुली र दोलखामा एक्एक तथा ललितपुरमा पाँच पशु बधस्थल निर्माणमा उक्त रकम खर्च भएको जनाइएको छ ।

प्रदेशका तीन वटा जिल्लामा २३ वटा चिलिङ भ्याट खरिद गर्नका लागि एक करोड पचास लाख बजेट पठाएको मन्त्रालयले जनाएको छ । चितवनमा मात्रै १७ वटा चिलिङ भ्याटका लागि रकम दिइएको छ भने ललितपुरमा दुई, मकवानपुर, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरमा एक/एक वटा चिलिङ भ्याट खरिदमा अनुदान दिइएको मन्त्रालयले जनाएको छ ।