ललितपुर। अब कृषि तथा पशुपन्छीं सम्बन्धी उद्यम गर्न चाहने व्यक्ति, समुह वा फार्मले आवेदन दिएको एक हप्ता भित्र कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल बुधबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् । १५ लाख सम्मको कृषि,उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा सात दिन भित्रै पाइने उक्त मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले कृषि,उद्यम तथा व्यवसाय प्रवर्द्धन कर्जा निवेदन प्राप्त भएको सात दिन भित्रै स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा त्यसको कारण ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

यस्तो कर्जा प्रवाह गर्न आधार दरमा २ प्रतिशत सम्म मात्रै थप ब्याज लगाउन पाइने बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले यस्तो कर्जामा अन्य कुनै प्रकारको सेवा शुल्क लिन नपाउने प्रस्ट पारेको छ । ऋणीले समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी थप शुल्क लिन नपाइने व्यवस्था माद्रिक नीतिमा छ ।