ललितपुर। हिजोदेखि मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आज साँझसम्म नै मनसुन न्यूनचापिय रेखा नेपालको पुर्वदेखि पश्चिम तराई भू-भागमा रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसै कारण हाल देशभर पूर्ण बदली रहने भएको छ । त्यस्तै अहिले देशका धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भइरहेको छ। यो क्रम कम्तिमा आज साँझसम्म कायम रहने छ । भने भोली पोर्सीसमेत मौसम निकै फेरबदल भइरहने छ ।

देशका २५ जिल्लामा करिब साताभर मेघ गर्जनसहित पानी पर्ने महाशाखाको पूर्वानुमा छ। मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।

आज पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र महोत्तरी क्षेत्रमा साताको सुरु र मध्यमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा र केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

तराई छुने बारा, पर्सा, चितवन, रुपन्देही, बाँके र कैलाली क्षेत्रका केही स्थानमा भारी वर्षा र अन्यमा मध्यम तथा सामान्य वर्षासहित साताभरि वर्षा हुने छ । मध्य र पहाडी क्षेत्रका धनकुटा, सङ्खुवासभा, दोलखा, धादिङ र काभ्रेपालाञ्चोक जिल्लामा पनि साताभर वर्षाको प्रभाव कायम रहने महाशाखाको पूृर्वानुमान छ ।

पश्चिमतिर कास्की, पाल्पा, रुकुम, दाङ, सुर्खेत र डोटीमा साताको सुरुमा मध्यम र सामान्य वर्षा रहे पनि केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा एवं जुम्ला, दार्चुला र मुस्ताङ क्षेत्रमा साताभरि नै मेघ गर्जनसहित वर्षा हुने छ ।

हिमाली भेगका विभिन्न स्थानमा हिउँ पर्ने र हिउँ पहिरोको सम्भावना र नदी खोलामा जलतसतह बढि रहेका कारण होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

असार २७ गते (शुक्रबार)
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना छ।
राती: देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २८ गते (शनिबार)
दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।

राती: देशका पश्चिमी भूभागमा सामान्य बदलि तथा पूर्वी र मध्यका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

बाढीको खतरा कहाँ कहाँ ?

देशभर बिहीबारबाट परेको वर्षाका कारण नदी तथा खोलाहरुको जलस्तर बढेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै देशभरका खोला तथा नदी आसपासका साथै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

लगातारको वर्षाका कारण बागमती नदीको तराई क्षेत्रमा जलस्तर बढेर खतराको संकेतभन्दा माथि चढेको छ । त्यस्तै, कन्काई र कमला नदीको जलस्तर सर्तकता तह नजिक पुगेको र बढ्ने क्रम जारी छ ।

त्यस्तै, सप्तकोशी नदिमा पनि जलस्तर बढ्ने क्रम जारी छ । शुक्रबार बिहानसम्म सप्तकोशी नदीको जलस्तर सतर्कता नजिक पुगेको छ । प्रदेश १, २ र ३ का सवै चुरे खोलाहरुमा बहाव सतर्कतामाथि र उच्च खतरा रहेको तथा यो क्रम शनिबारसम्म रहने बताइएको छ ।

बाढी पूर्वानुमान शाखाले बागमती पधेरादोभान बाढी मापन केन्द्रमा शुक्रबार बिहान आठ बजे जल सतह खतराको विन्दुमा पुगेको र त्यो क्रम बढ्दो रहेकाले सर्लाही र रौतहटका तटीय क्षेत्रमा रहेकाहरुलाई सुरक्षित स्थानमा रहन सुचित गराएको छ ।

त्यस्तै, कमला–धनुषा तितरिया मपन केन्द्रमा जलसतह नजिक पुगेको छ । जलसतह बढ्ने क्रम जारी रहेकाले धनुषा र सिराहा जिल्लामा डुवान जारी रहने जनाएको छ । ति जिल्लामा आज बिहानैबाट विभिन्न स्थानका बस्तीहरु डुवानमा परेका छन् ।

त्यस्तै, मेची, नन्दा, विरिङ,मावा, रतुवा नुनखोला, लोहन्द्रा, बुढी खोला, खोसिलिया, सुनसरी, खोला, त्रियुगा, बालन खुट्टी, खाडो, माहुली रातु, लालबकैया लगायतका स्थानहरुमा पानी परिरहेकाले तटिय क्षेत्रहरुमा उच्च सर्तकता अपनाउन भनिएको छ ।