ललितपुर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने काम रोकेर सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले जनताको जीवनमा खेलबाड गरेको आरोप लगाउनुभएको हो ।
उहाँले विषादी परीक्षण रोक्नेसम्बन्धी निर्णयबारे सदनमा जवाफ माग पनि गर्नुभयो । सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको आरोप लगाउनुभयो ।
उहाँले विषादीयुक्त तरकारी तथा फलफुल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजना बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।









