
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार पाँचौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गोपी सिङ्तानले कृषि, पर्यटन, जनशक्ति विकास र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको जानकारी दिए । यसका साथै गाँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम पनि संचालन गर्ने भएको छ ।
आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम कृषि, पर्यटन, जनशक्ति विकास, बसोबास र पूर्वाधार : समृद्ध र सम्पन्न कोन्ज्योसोम विकासको आधार भन्ने मुल नारा राखिएको छ ।
अध्यक्ष रोजगार कार्यक्रम :
गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष गोपीलाल सिङ्तानले स्थानिय स्तरमा रोजगारीको सिर्जना गरी गरिबी न्यनीकरण गर्ने बताए । गाउँपालिकाले स्थानीय स्तरमा कृषि तथा वनजन्य लघु उद्योगहरुको स्थापना र विकासगरी रोजगारी मार्फत गरिबी न्यूनिकरण गर्ने उद्देश्यले अध्यक्ष रोजगार कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए ।
योजना :
गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ मा सडक, करिडोर र भ्यु टावर निर्माण लगायतका ठूला योजना संचालन गर्ने भएको छ । दलचोकी भ्यु टावर निर्माण, कोन्ज्योसोम प्रतिमा निर्माण, भारदेउ–पनौती जोड्ने सडक, सिमभञ्ज्याङ्ग दलचोकी सडक, कतुवन–शंखु–भट्टे डाँडा सडक निर्माण हुनेछ । त्यस्तै नल्लु करीडोर सडक निर्माण गर्ने र काम्लेचौर फुटबल ग्राउण्ड गाउँपालिकाले संचालन गर्नेछ ।
जनताका गुनासा सम्बोधा गरिने :
गाउँपालिकाले जनताका गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले हेलो अध्यक्ष कार्यक्रम संचालन गर्ने भएको छ । त्यसकालागि आवश्यक पर्ने प्रविधि गाउँपालिकाले आगामी आर्थिक वर्षमा भित्र तयार पार्ने जनाएको छ । उपकरण जडान पश्चात कार्यक्रम प्रत्येक शुक्रबार संचालन गर्ने गाउँपालिकाले जनाएको छ ।
कृषि तथा पशुपंक्षी वर्ष :
कोन्ज्योसोम गाउँपालिकाले कृषि तथा पशुपंंक्षीको विकास गर्न कृषि तथा पशुपंक्षी वर्ष मनाउने भएको छ । कृषि तथा पशुपालन पेशालाई व्यवसायिक र यान्त्रिकीकरण गर्ने योजना गाउँपालिकाले लिएको छ ।
पाँच वडा पाँच पकेट क्षेत्र :
गाउँपालीकाले पाँचै वडालाई पकेट क्षेत्र घोषणा गर्ने भएको छ । वडा नम्बर एकलाई तरकारी खेती तथा बाख्रापालन पकेट क्षेत्र, दुइलाई भैसीपालन तथा तरकारी खेती पकेट क्षेत्र, तीनलाई दुग्ध उत्पादन पकेट क्षेत्र बनाउने योजना गाउँपालिकाको छ ।
त्यस्तै वडा नम्बर चारलाई फलफुल तथा तरकारी पकेट क्षेत्र र वडा नम्बर पाँचलाई तरकारी खेती तथा पशुपालन पकेट क्षेत्र घोषण गरि कृषि तथा पशुपंक्षी विकासको कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष गोपी सिंतानले बताए ।
पर्यटकिय क्षेत्र र सम्पदाको विकास गरिने :
धार्मिक पर्यटकिय स्थलको विकासको लागि गुरु योजना तयार गरि पर्यटकिय विकासका योजना कार्यान्वयन गर्ने गाउँपालिकाको योजना छ । त्यस्तै कोन्ज्योसोप प्रतिमा गुप्तेश्वर महादेशव मन्दिर तथा गुफा, पाथिभरा मन्दिर, मनकामना मन्दिर, कृष्ण प्रणामी मन्दिर, जस्ता धार्मिक पर्यकीय तथा साँस्कृतिक सम्पदा तथा क्षेत्रहरुको संरक्षण, संवर्द्धन र प्रवरद्धनलाई गाउँ पालिकाले निरन्तरता दिने भएको छ ।
गाउँपालिकाले तामाङ्ग साँस्कृति भिलेजको अवधारणा कार्यान्वयन गर्ने भएको छ । स्थानिय भाषा, साहित्य, संस्कृति, कलाको संरक्षण र विकासका लागि कार्यक्रम लागु गर्ने योजना गाउँपालिकाको छ ।
कुल बजेट :
गाउँपालिको सम्पूर्ण कार्यक्रम संचालनको लागि २८ करोड २३ लाख ३९ हजार रुपैंयाको बजेट ल्याउने भएको छ ।