तनहुँ। कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो।
कूल १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ प्रमुख कुलप्रसाद अधिकारीले जानकारी दिए। उनले परम्परागतरूपमा गरिदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित कृषकको मागबमोजिम हाते ट्याक्टर वितरण गरिएको बताए।
उनले परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको र कृषिमा यान्त्रिकीकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिने बताए।
हाते ट्र्याक्टर पाएपछि कृषक खुशी भएका छन्। व्यास नगरपालिका-६ श्याम्घाका कृषक लालबहादुर पन्थले हाते ट्याक्टरको प्रयोगले समयको सदुपयोगसँगै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए।
कृषकलाई बोका वितरण :
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ।
व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पुर्याउने उद्देश्यले बोयर क्रस जातको नौवटा बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार सहकारी र समूहलाई एकरएक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका वितरण गरिएको छ। उनका अनुसार बोका वितरणका लागि कार्यालयले सूचना प्रकाशित गरेको थियो। ‘अनुदानमा बोका वितरणका लागि प्रस्ताव आह्वान गरेका थियौं,’ श्रेष्ठले भने, ‘प्रस्ताव हाल्ने कृषकलाई बोका वितरण गरेका हौं।’









