बुटवल। प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ ।
नीति तथा कार्यक्रममा सरकारले सरकारी, निजी क्षेत्र तथा सहकारीबीचको सहकार्यलाई जोड दिएको छ । कृषि उत्पादन, औद्योगिक विकास तथा जलविद्युतको उत्पादन र सौर्य उर्जा उत्पादनलाई पनि जोड दिएको छ ।
‘गरौं व्यापार–कृषि यसैबाट हुन्छ समृद्धि’ भन्ने नाराका साथ कृषिलाई प्रोत्साहन दिएको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा एक कृषि प्रयोगशाला स्थापनाको योजना अघि सारेको छ ।
फलफूल उत्पादनलाई जोड दिँदै सरकारले जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै समुदायमा आधारित पशु तथा कृषि प्रजनन केन्द्रको स्थापना, शीत भन्डारलाई जोड दिएको छ । औद्योगिक विकासलाई प्रदेशको विकासको आधार मानिएको नीति तथा कार्यक्रममा स्वदेशी लगानी र रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्योगका लागि सरल कर्जा तथा निश्चित प्रतिशत व्यजदरमा ऋण प्रवाह गर्ने उल्लेख गरिएको छ ।
ठूला उद्योगसम्म पुुग्ने सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने, खानी उत्खननका लागि नीति निर्माण गर्ने लगायतका महत्वाकांक्षी योजना नीति तथा कार्यक्रममा परेका छन् ।
स्वदेशी लगानी तथा रोजगार सिर्जना गरेका उद्योगहरुलाई सरल कर्जा तथा निश्चित प्रतिशत व्याजमा अनुदान प्रदान गरिने छ ।









