चितवन । एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन् । वि.सं. २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रू. १० करोड बराबरको सम्पत्ति जोडेका छन् ।

मकवानपुर उपमहानगरपालिका १७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा चियादानी र चार ओटा गिलासबाट व्यवसाय शुरु गरेका उनले दोस्रो वर्षदेखि दूधको खुवा घोट्न शुरु गरे । रघुनाथले भने,‘ काभ्रेको ढुङखर्कबाट रू.४०० बाटो खर्च बोकेर यहाँ आएको हूँ ।’ मकवानपुरको पहाडी क्षेत्रका १४ गाविसका मानिस हिँडेर र घोडा चढेर त्यहाँ आउने खाजा खाने गर्छन्, शुरुमा तीनैलाई खाजा खुवाउँदै गर्दा एक किलो, आधा किलो खुवा बिक्ने गरेको उनले बताए ।

खुवाको प्रचार हुँदै जाँदा अहिले राजधानी काठमाडौं, चितवन, कास्की, धनुषालगायतका ठाउँमा खुवा पुग्ने गरेको जानकारी दिँदै रघुनाथले भने, ‘अहिले त विदेशी पनि आउँछन्, सुदूरपश्चिम बाहेक देशैभरी हाम्रो खुवा पुगेको छ ।’ दैनिक १०० किलोसम्म खुवा बेच्ने गरेको बताउँदै उनले घरका सबै यही पेशामा होमिएको छन् भने । यही पेशाबाट कति कमाउनुभयो भन्ने प्रश्नमा रघुनाथले भने,‘बजारमा तीन ओटा घडेरी र एक बिघा खेत किनेको छु ।

दुई छोराछोरी पढाएको छु यो सम्पत्ती जोड्न अहिले रू. १० करोड चाहिन्छ ।’ उनले गर्मी मौसममा आगोको राफसँगै कराइको दूध घोट्दा एक किलोमा रू.१०० हाराहारी बेच्ने र दैनिक व्यापार एक नासको नभए पनि महीनामा रू. १ लाख हाराहारी बचाउन सकिने बताए । प्रतिकिलो रू. ५००मा खुवा बेच्दै आएका तिमिल्सिनाले गुदपाक र दूध पनि बेच्दै आएका छन् ।