
डडेल्धुरा। सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षातको समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो ।
डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा खेती गरिँदै आएको भटमासलाई आधुनिक खेतीमार्फत् उत्पादन बढाई प्रशोधनका लागि उद्योग स्थापना गर्ने अवधारणा अघि सारिएको हो । करीव रू. ६० करोडको लागतमा सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरामै भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि उद्योग खोल्न सकिने अवधारणासहित केही दिनअघि सरोकारवालासँग छलफल गरियो । उद्योग सञ्चालनमा ल्याउन सकिए सके प्रत्यक्ष रुपमा ५० हजार भन्दा बढी कृषकले रोजगार पाउने छन् ।
नेकपाका नेता तथा बुद्धिजीवी डा. तारा जोशीका अनुुसार रू.१५ करोड जनसाधारणबाट शेयर लगानी, रू.२० करोड बैंकबाट कृषि ऋण र रू.२५ करोड सरकारी अनुदान प्राप्त गर्न सकिए उद्योग सञ्चालनमा आउँछ । १४ ओटा कृषि फार्म वा सहकारीमार्फत् सुदूरपश्चिम र कर्णाली प्रदेशका ५० हजार किसानलाई व्यावसायिक रुपमा भटमास खेतीमा आबद्ध गराई भटमास प्रशोधन उद्योग खोल्दा १ हजार भन्दा बढी युवालाई रोजगार सिर्जना गर्न सकिन्छ भने ३५ हजार मेट्रिक टन भटमास र ५ हजार मेट्रिक टन मकैको आपूर्ति गर्न सकिन्छ ।
व्यावसायिक कृषिमार्फत् रोजगारीका अवसर प्रदान गर्ने भिजन डडेल्धुराको नीति अनुरुप डडेल्धुरामा भटमास उत्पादन तथा प्रशोधन उद्योगका लागि पहिलो पटक पहलकदमी लिइएको हो । सुदूरपश्चिमका पहाडी जिल्लाबाट हुने बढ्दो आयात कम गर्न भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणको अवधारणा अघि ल्याइएको हो । एक अध्ययनअनुसार दाल र खाजाका लागि मुख्य बालीका रुपमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा भटमासको उत्पादन गरिन्छ । परम्परागत रुपमा भइरहेको भटमास उत्पादन सबैभन्दा कम मूल्यको चामलसँग विक्री भइरहेको छ ।
यहाँका स्थानीय बासिन्दाले प्रायः चामलसँग भटमास साट्ने गरेका छन् । थोरै कृषकले मात्रै चामलसँगै अन्य दैनिक खाद्यवस्तु, लत्ताकपडा र अन्य घरखर्च चलाउने गरेका जोशी बताउँछन् । पोषणका हिसाबले भटमास महत्वपूर्ण अन्न मानिन्छ । गरीवको मासु भनेर पनि चिनिने भटमास उत्पादनतर्फ किसानको आकर्षण बढ्दो छ । व्यावसायिक भन्दा पनि निर्वाहमुखी रुपमा भटमास खेती गरिने भएकाले उत्पादनलाई उल्लेख्य रुपमा बढाउन नसकिएको कृषि विज्ञहरुको भनाइ छ ।
डडेल्धुरा लगायत पहाडी जिल्लाहरुमा भटमासका लागि उर्बर माटो रहेको भए पनि कृषकहरुलाई यसका बारेमा ज्ञान नहुँदा परम्परागत खेतीमै सीमित रहेका कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए । कृषकलाई भटमासका बारेमा प्रशिक्षण दिई उत्पादन बढाउन सकिने विष्टको भनाइ छ । बसाईं सराइका कारण मध्य पहाडी भेगमा अधिकाँश खेतीयोग्य जमीन बाँझो रहेको छ । बाँझो जमीनलाई उपयोग गर्न कृषि उत्पादनको विकल्प खोज्न लागिएको हो ।
कृषि उत्पादन मार्फत रोजगारीका अवसर सिर्जना गर्न खेतीयोग्य बाँझो जमीनको खोजी गरी उत्पादन छनौट गर्न लागेको सरोकारवालाले जनाएका छन् । भटमासबाट विभिन्न खाद्य वस्तु उत्पादन गर्न सकिन्छ । यससँग सम्बन्धित् कृषक र व्यवसायीहरुसँगको सहकार्यमा राज्यले भटमासको उत्पादन र प्रशोधन गर्ने योजना निर्माण गर्नुुपर्ने वरिष्ठ पत्रकार डिआर पन्त बताउँछन् । उत्पादनकर्तालाई सहुलियत प्रदान गरी भटमास खेती प्रवर्द्धन गरिए प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै युवाका लागि रोजगारी सिर्जना हुनसक्छ ।
भटमासबाट हरियो बिन, सोयाबिन, तेल, दूध, टोफु, कुखुरा दाना र ह्याचरी उत्पादन गरी बजारीकरण गर्न सकिए यो देशकै सबैभन्दा ठूलो कृषि उद्योग बन्ने छ । यसले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउँछ र कृषकलाई पनि उचित मूल्य दिलाउँछ । उद्योग सञ्चालनका लागि डोटीको जोरायल गाउँपालिकाको गैरामा ५०० रोपनीमा भटमास खेती गर्ने लक्ष्य छ ।
यससँगै जोरायल क्षेत्र र वीपी नगर क्षेत्रमा उपयुक्त जमीन छनोटको काम भइरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशले भटमासको व्यावसायिक उत्पादनका लागि डडेल्धुरालाई पकेटक्षेत्र घोषणा गरी कार्यालयसमेत स्थापना गर्न लागेको छ ।