
चितवन। अण्डा उत्पादक किसानहरुले नेपाल अण्डा उत्पादक संघको केन्द्रिय कार्यालयमा तालाबन्दि गरेका छन् । अण्डाको मूल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप उनीहरुले तालाबन्दि गरेका हुन् ।
विचौलियाको साँठगाठमा अण्डा उत्पादक सघं लागेको किसानहरुको आरोप छ । अण्डाको लागत मुल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ ।
उनीहरुले भरतपुरको लायन्सचोकबाट पुलचोक हुदैं संघको केन्द्रिय कार्यालयसम्म विरोध र्याली निकालेका थिए । औचित्यहिन समितिका पदाधिकारीको राजीनामा समेत उनीहरुले माग गरेका छन् ।
अर्थहिन अण्डा संघ खारेज गर, पदाधिकारीले राजिनामा दे, अण्डाको मुल्य बृद्धि गर, तत्काल साधारण सभा आव्हान गर लगायतका नारा सहित प्ले कार्ड प्रर्दशन गरेका हुन् । मागको सुनुवाई नभए चरणबद्ध सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।