ललितपुर। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ ।

प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औचार र सवारीसाधनमा खर्च गरेको हो ।

परियोजना कार्यान्वयन एकाइ, १० सुपरजोन र ३९ जोन कार्यालय स्थापना गरी दुई अर्ब २४ करोड ६ लाख रुपैयाँ खर्च गरिएको छ ।

उक्त खर्चमध्ये प्रशासनिक कार्यमा २८ करोड ३९ लाख र फर्निचर, मेसिनरी औजार, सवारीसाधनमा ३२ करोड ३४ लाख रुपैयाँसमेत गरी ६० करोड ७३ लाख चर्त औचित्यपूर्ण नदेखिएको महालेखाले जनाएको छ । व्यर्थमा गरिएको खर्च पुनावलोकन गर्न महालेखाले सुझाएको छ ।