इलाम। सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग राख्दै सुरु गरेको आन्दोलन थप कडा हुँदै गएको छ ।

सरकारले तोकेको दैनिक न्यूनतम ज्याला इलामका निजी चिया उद्योगले दिने प्रतिबद्धता जनाए पनि सरकारी स्वामित्वका बगानले अहिलेसम्म श्रमिकका मागप्रति चासो नदेखाउँदा श्रमिकको आन्दोलन कडा बन्दै गएको हो ।

गत चैत १७ गतेदेखि इलाम र झापामा रहेका सरकारी स्वामित्वका सातवटा चिया बगानमा कार्यरत श्रमिकहरू काम नै छोडेर दैनिक आन्दोलनमा रहेका छन् । यी बगानका श्रमिकहरूले बुधबार झापाको बिर्तामोडमा थाल ठटाएर नाराजुलुस गरेका छन् ।

पचास वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिइएका इलामका इलाम, कन्याम, सोक्तिम, चिलिमकोट झापाको वर्ने, टोकला र बाह्रदर्शी चिया बगानमा श्रमिकहरूले न्यूनतम ज्याला पाउनुपर्ने अडान राख्दै धर्ना, नारा–जुलुस र कोणसभा गरिरहेका छन् ।

श्रमिकको आन्दोलनका कारण ‘फस्ट फ्लस’ चिया प्रशोधन गर्न नपाउँदा व्यवस्थापन पक्ष लाखौँ रुपियाँ घाटामा गएको  छ । चैत १७ यता सरकारी स्वामित्वका इलाम र झापाका सातवटै चिया बगान तथा उद्योगहरू बन्द छन् । यी सातवटा बगानमा पाँच सय २५ स्थायी श्रमिक कार्यरत रहेको समूहले जनाएको छ ।

बुधबार नै श्रमिकहरूले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन् । श्रमिकले आगामी शनिबार सङ्घीय सांसदलाई घेराउ गर्ने, ८ गते चिया उत्पादक क्षेत्र भएका जिल्लाका जिल्ला समन्वय समितिको कार्यालयमा घेराउ गर्ने, ९ गते प्रदेशको मुख्यमन्त्री कार्यालयमा डेलिगेसन जाने र १० गते प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ कार्यक्रम रहेको नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो ।