भक्तपुर। देशका केही जिल्लामा देखिदैं आएको बर्डफ्लु भक्तपुरमा समेत देखिएको छ । सूर्यविनायक नगरपालिका वडानम्बर ४ दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्यहाँको कुखुरा बुधबार बेलुका नष्ट गरिएको छ । दधिकोट तर्खगालमा सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फर्ममा पालिएको लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा नष्ट गरिएको भेटनरी अस्पतालका पशुसेवा विज्ञ डा. चन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।

उक्त क्षेत्र वरपरका चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ ।
नगरपालिकाका पशु विकाश अधिकृत पूर्णचन्द्र शर्माले अन्यत्र संक्रमण फैलिन नदिन विशेष सर्तकर्ता अपनाइएको जानकारी दिए ।