भरतपुर। गैंडाकोट नगरपालिका ७ का मनहरि सापकोटाले संघर्षको पापड बेल्नसम्म वेलेकाछन् । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौ धौ हुने उनलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ ।

पसिनाको कमाइ खानुको मज्जा उनलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उनले पूर्वपश्चिम राजमार्गको गैंडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्ने गरेकाछन् । नवलपुरको गैंडाकोट ८ थुम्सी नजिकै हरियो र पोलेर मकै बेच्ने उनीजस्ता ८० स्थानीयवासी छन् । एकै जनाले मकै बेचर मासिक रू. ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन् । सापकोटाले विगत ५ वर्षदेखि सोही ठाउँमा बसेर मकै बेच्दै आएका छन् । पहिला आफू मात्रै आएर मकै बेच्दै आएका मनहरिले पछिल्लो समय श्रीमती कमला सापकोटालाई पनि सँगै लिएर मकै बेच्ने थालेका छन् । दुबै मिलेर व्यापार गर्दा मासिक रू. ८० हजारसम्म कमाइ हुनेगरेको उनले बताए ।

सो क्षेत्रमा उनी जस्तै मकै बेच्ने ६ दम्पती छन् । उनीहरुको दैनिकी पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधानमा आउने यात्रुलाई मकै बेच्नु हो । प्लास्टिकमा पोको पारेको मकै बेच्न उनीहरु तछाडमछाड गरेर लाग्ने गरेका छन् । करीब ५ सय मिटर क्षेत्रमा यस्तो दृश्य देख्न सकिन्छ । एक जनाले दिनमा १५० देखी २०० घोगासम्म मकै बेच्ने गरेको मनहरिले सुनाए । पोलेको मकै प्रतिगोटा रू। २० मा बेच्ने गरिन्छ । दश घोगा मकैलाई रू। १०० मा बेच्ने गरिएको छ । उनीहरुले आफ्नै खेतबारीमा दुई सिजन मकै लगाउने गरेका छन् । आफूसँग मकै नभएको बेलामा अन्यक्षेत्रबाट खरीद गरेर भए पनि मकै बेच्ने गरेको मनहरिले सुनाए ।

‘बाहिरबाट मकै खरीद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्ना बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ’, मनहरिले भने ‘मकै बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ ।’ गैंडाकोट ७ कै ईन्द्रराज कँडेलले दैनिक रू.१ हजारदेखि १ हजार ५०० सम्म फाइदा हुने गरेको बताए । आफ्नो ३ कट्ठा जमीनमा लगाएको मकैले सोचेभन्दा धेरै फाइदा दिएको उनले बताए । ६ वर्षअघि लागेको यस पेसाबाट निकै सन्तुष्टी मिलेको उनी बताउंछन् । ‘यात्रु आफै गाडी रोकेर मकै किन्छन’, उनले भने ‘यसले गर्दा पनि पेशाप्रति थप चासो थपिएको छ ।’

गैंडाकोट ७ कै देवप्रसाद सापकोटा पनि श्रीमतीसँगै दैनिक मकै बेच्न राजमार्गमा आउने गरेका छन् । उनीहरु दुबै जनाले दिनमा ५०० घोगा मकै बेच्ने गरेको सुनाए । दुबै जनाले मकै बेच्दा मासिक रू. ८० हजारसम्म फाइदा हुने गरेको उनले बताए । शुरुवातमा चाररपाँच जना भएर मकै बेच्ने गरेकामा अहिले दर्जनौं भइसकेका छन् ।

व्यापार राम्रो भएकाले संख्या बढेको उनको भनाई छ । संख्या बढे पनि व्यापारमा कुनै कमी नआएको सापकोटाले बताए । नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा दुर्घटना हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । नगरपालिकाले मकै बेच्ने ठाउँको सरसफाइमा ध्यान दिन र तछाडमछाड नगरी व्यवस्थित रुपमा व्यापार गर्न आग्रह गरको नगरप्रमुख छत्रराज पौडेलले बताए । उनले भने ‘ आफ्नै ठाउँमा आत्मनिर्भर बन्नेगरी व्यापार गर्नु राम्रो हो, तर व्यवस्थित हुनुपर्छ ।’