पोखरा। हेटौंडा र काठमाण्डौमा कुखुरामा बर्ड फ्लू संक्रमण देखिएको समाचार आइरहँदा कास्कीमा पनि बर्ड फ्लू भेटिएको छ । मादी गाउँपालिका वडा नं ३, याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भएको हो ।

जिल्ला प्रशासन कार्यालय, कास्की बर्डफ्लू रोग नियन्त्रक कक्ष सूचना अधिकारी डा. गृष्म न्यौपानेका अनुसार याङ्जाकोटमा घरमा पालिएका कुखुरा मर्न थालेपछि ५० नमूना संकलन गरिएको र शंकास्पद नमूना परीक्षण गर्दा बर्डफ्लू भाइरस एच ५ एन वान संक्रमण देखियो । पुनः केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाउँदा पनि बर्ड फ्लू भाइरस देखिएपछि नियन्त्रणका लागि टोली परिचालन गरिएको छ ।

आइतबार मन्त्रीस्तरकै निर्णयानुसार तत्काल रोग नियन्त्रणका लागि पत्र प्राप्त भएपछि सोमबार बिहान प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा बैठक बसेको उनले जनाए । कन्ट्रोल इञ्चार्ज डा. केदार राज पाण्डे सहितको टीम रोग नियन्त्रणका लागि खटिएका छन् । टोली याङ्जाकोट प्रस्थान गरेको छ ।

फागुन दोस्रो सातामै कुखुरा भकाभक मर्न थालेपछि फागुन १९ गते पहिलोपटक जाँच गरिएको थियो । बर्डफ्लूको संक्रमण देखिएको स्थानमा चार किल्ला तोकिएको छ । पूर्वपट्टी भीरक्षेत्र, पश्चिममा पोखरा आउने बाटो, उत्तरतर्फ गाउँपालिका कार्यालय र दक्षिणतर्फ ससुराबाजे भनेर चिनिने स्थानीयको घरलाई चार किल्ला कायम गरिएको छ ।

काठमाण्डौ र हेटौंडामा उच्च सतर्कता :

कास्की सहित काठमाण्डौ, हेटौंडामा पनि कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको र त्यसलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको पशु सेवा विभागले जनाएको छ । हेटौँडा र काठमाडौँको तारकेश्वरमा बर्ड फ्लुको संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको विभागले जनाएको छ ।

हेटौँडा र काठमाडौँमा विशेष गरि लेयर्स कुखुरामा योपटक एच ५ एन वान भाइरसको संक्रमण देखिएको हो । पोखरामा लोकल कुखुरामा देखिएकाले सुरक्षात्मक उपाय अपनाउन केही समय लाग्ने र केही दिनमा सबै नियन्त्रणमा आउने जनाएको छ ।

फोटो : पोल्ट्री नेपालको फेसबुक वालबाट