ललितपुर। उद्योगी व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोे बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले साना उद्योग विस्थापित हुने भएकाले यसमा विदेशी लगानी ल्याउने कानुनी व्यवस्था गर्न नहुने स्पष्ट पार्नु भयो । विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीहरुको आपत्ति छ ।

यता, विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको धारणा राख्नु भएको थियो । अर्थविद् एवम् पूर्व राजदूत डा. शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्रयाउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गर्नु भयो । उहाँले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिनुभयो ।

पूर्व उद्योग सचिव पुरुपोत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले विदेशी लगानी नेपालका लागि आवश्यक रहेकोतर्फ पनि सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

विधेयकमा माछा पालन, मौरी पालनमा नेपाल आफै सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको उल्लेख गरिएको छ ।