
ललितपुर। दुग्ध उत्पादक किसानका समस्या बेवास्ता र स्वदेशी डेरी क्षेत्रमा भएको विदेशी लगानी खुल्ला गर्ने विधेयक नसच्याए कृषकहरुले चरणबद्ध आन्दोलन गर्ने केन्द्रीय दुग्ध सहकारी सङ्घले चेतावनी दिएको छ । सङ्घले डेरी क्षेत्रमा प्रदेश सरकारले अघि बढाएको चिनिँया गाई खरिदसम्बन्धी समझदारी र संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण तथा एकीकरण गर्न बनेको विधेयकमा डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने निष्कर्ष निकाल्दै आन्दोलनको चेतावनी दिएको हो ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले चीनबाट गाई आयात र विदेशी लगानी भित्र्याउँदा कृषिजन्य उत्पादनको क्षेत्र डेरी धरासायी हुने र अर्थतन्त्रको विकासमा बाधा पुग्ने जनाएको छ ।साथै संघले पशुपालक किसानलाई सडकमा आउन बाध्य नपार्न सरकारलाई सचेत समेत गराइएको छ ।
दुग्ध सहकारी सङ्घ संस्था र सरोकारवालासँग कुनै छलफलबिना नै चाइनिज गाई ल्याउने सम्झौता ग्रामीण गरिबी निवारण गर्ने नाममा स्वदेशी उद्योग र किसानलाई पेशाबाट नै पलायन बनाउने उद्धेश्यले प्रेरित रहेको सङ्घका अध्यक्ष नारायण देवकोटाले बताए । भर्खरै आत्मनिर्भर उन्मुख रहेको डेरी क्षेत्रमा आयातीत चाइनीज गाई र बहुराष्ट्रिय कम्पनीको प्रवेशले स्वदेशी डेरी उद्योग धरासायी हुने निश्चित भएको उनको तर्क छ ।
पत्रकार सम्मेलनमा चितवन अन्नपूर्ण दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष भगीरथ तिमल्सिनाले नेपालमा चाहिने जति गाई एक वर्षभित्र नै उत्पादन गर्न सकिने बताए । उनले चीनबाट ल्याइने गाईको मौसम, वातावरणी प्रभाव, घाँस तथा नश्लको व्यवस्थापन, आवश्यक पूर्वाधार र दुग्ध उत्पादनका क्षेत्रमा काम गर्ने सङ्घसंस्था र सरोकारवालासँग कुनै छलफल नै नगरी हचुवाका भरमा ल्याउन लागिएको बताए । ‘यहाँ कति गाई चाहिने हो । हामी एक वर्षभित्र गाइका बाच्छाबाच्छी तयार गर्न सक्छौं । चाइनाबाट महँगोमा गाई ल्याएर मात्रै हुन्छ आवश्यक पूर्वाधार र घाँसको व्यवस्थापन हुनुपर्दैन’ उनले भने, ‘हचुवाको भरमा गाई ल्याएर सरकारी रकम दुरुपयोग नहोस् भन्ने पक्षमा हामी छौं ।’
सङ्घले विधेयक संशोधन अर्थात कृषिजन्य उत्पादनका क्षेत्रमा लगानी खुल्ला गर्ने गरी दर्ता भएको विधेयक सच्याउन प्रधानमन्त्री, कृषिमन्त्री र अर्थमन्त्री समेतलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।
चाइनाबाट गाई ल्याउने र कृषिजन्य उत्पादनका क्षेत्रमा विदेशी लगानी ल्याउनु आवश्यक नरहेको भन्दै डेरी एसोसिएसन, दुग्ध विकास संस्थान र डेरी उद्योग सङ्घले यसअघि नै सरकारको ध्यानाकर्षण गराएका छन् । कुनै बहुराष्ट्रीय कम्पनीको प्रवेशले नेपाली डेरी उद्योगमा निजी क्षेत्रले गरेको लगाानी र स्वदेशी किसानलाई मर्का पुग्ने डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।
अहिले स्वदेशमा दैनिक झन्डै ५ लाख लिटर दूध उत्पादन भइरहेको छ । २० हजार प्रत्यक्ष रोजगारी र ५ लाख किसान प्रत्यक्ष दूध उत्पादनमा संलग्न छन् । झन्डै १ हजार ८०० सय दुग्ध सहकारीमार्फत दूध सङ्कलन गरी डेरी उद्योग सञ्चालन भइरहेको छ ।