बुटवल। दानाको मूल्यमा महिनैपिच्छे वृद्धि भए पनि लामो समयदेखि जिउँदो कुखुराको मूल्यवृद्धि नभएको भन्दै कुखुरापालक निराश भएका छन् । यही अवस्था कायमै रहे कुखुरा फार्म नै बन्द गर्नुपर्ने अवस्था आउने किसानले गुनासो गरेका छन् ।
किसानका अनुसार ब्रोइलर कुखुरा ४५ दिनमा बिक्रीका लागि तयार हुने र एउटा कुखुरा उत्पादन गर्दा करिब चार सय रुपियाँ लागत पर्छ तर बजारमा जिउँदो कुखुरा प्रतिकेजी १३५ देखि १४० रुपियाँसम्ममा मात्र बिक्री हुने गरेको छ । यस बजार भाउले किसान निकै मारमा परेको गुनासो गर्दै आएका छन् । तयारी मासुको बजार मूल्य भने अहिले तीन सय ४० रुपियाँ छ ।
लुम्बिनी ब्रोइलर कुखुरापालक किसान सङ्घका सदस्य तथा रुपन्देही शङ्करनगरका ब्रोइलर कुखुरापालक किसान दीपक थापाले गत मङ्सिर ५ गते आफूहरूले माग सम्बोधन गर्न भन्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको बताउनुभयो । सङ्घले लागत मूल्यअनुसार जिउँदो कुखुराको वैज्ञानिक मूल्य निर्धारण गरिनुपर्ने, चल्ला र दाना बिक्रीमा बिचौलिया प्रवृत्ति र एकाधिकार अन्त्य हुनुपर्ने, कुखुराको औषधि उपचारमा अनुदानको व्यवस्था हुनुपर्ने, बिचौलिया र माफियातन्त्र अन्त्य गर्नुपर्ने, भारतीय चल्ला र कुखुराको आयात नियन्त्रण गरिनुपर्नेलगायतका माग राखेको छ । अजष्अपभल(ाबचm
यस्तै अस्वस्थ कुखुराको आयात रोक्न, ब्रोइलर कुखुरापालक किसानको तथ्याङ्क सङ्कलन गर्न, कोल्ड स्टोरको व्यवस्था गर्न, कुखुराको बजार मूल्य र गुणस्तरको निरीक्षण गर्ने छुट्टै संयन्त्र बनाउन पनि सङ्घले माग गरेको छ ।
सङ्घका सदस्य तथा कुखुरापालक कृषक कमलकान्त गौतमले खासगरी बिचौलियाका कारण आफूहरूले लागतअनुसार मूल्य पाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले रुपन्देहीमा किसानका कुखुरा थोकमा खरिद गर्ने २७ जना बिचौलिया रहेको बताउनुभयो । रुपन्देहीमा करिब एक हजार कुखुरापालक किसान छन् । बुटवलमा मात्रै दैनिक ३० हजार किलोग्राम जिउँदो कुखुराको मासु बिक्री हुने गरेको छ ।









