ललितपुर। शुक्रबार सफा देखिएको मौसम शनिबारबाट पुनः प्रभावित हुने भएको छ । भारतको जम्मु-कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरेकाले त्यसको प्रभाव नेपालमा समेत देखिने मौसमविदहरुले जनाएका छन् ।

शनिबारसम्म नेपालको पश्चिमी क्षेत्रमा उक्त जलवाष्प भित्रिने र शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए ।

शुक्रबार केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको छ । बिहीबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी परेको थियो । पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौंआसपासका डाँडाकाँडामा समेत हिउँ परेको थियो ।