सुर्खेत। कर्णाली सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानका गुनासो तथा सुझाव लिन शुरु गरेको छ । किसानका समस्या समाधानमा मन्त्रालयले आवश्यक पहल गर्नुका साथै आवश्यक सुझाव लिन मन्त्रालयले हटलाइन सेवा शुरु गरेको हो ।

किसानले १६६०८३५२०१२ नं डायल गरेर मन्त्रालयसमक्ष आफ्नो गुनासो तथा समस्या राख्दै आएका छन् । मन्त्रालयका सचिव शिवनारायण चौधरीले किसानका समस्या समाधानका लागि विज्ञ, सचिव र आवश्यक परे मन्त्री विमला केसीले नै जवाफ दिने गरेको बताए । गुनासो सुन्न र विज्ञसँग किसानलाई जोड्न हप्ताको छ दिनकै तालीका बनाइएको छ । आइतबार बालीविज्ञानविज्ञ, सोमबार पशुविज्ञ, मङ्गलबार माटोविज्ञ, बुधबार मलविज्ञसँग सिधै किसानले कुरा गर्नेछन् । यस्तै शुक्रबार किसानसँग मन्त्रीले कुरा गर्ने गर्छन् ।

सूचना बोर्ड र उजुरी पेटिका :

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचनापाटी र सुझाव पेटिका पनि स्थापना गरेको छ । स्थापना भएको झण्डै एक वर्षपछि मन्त्रालयले नागरिकलाई सहजै जानकारी दिनसक्ने डिजिटल सूचनापाटी र सुझाव पेटिका राखेको हो । मन्त्री केसीका अनुसार मन्त्रालयले दैनिक सम्पादन गरेका कामबारे सेवाग्राहीलाई जानकारी दिने उद्देश्यले सूचना बोर्ड राखिएको हो ।

सेवा कार्यालयबाटै माटो परीक्षण :

मन्त्रालय मातहतमा रहेका सबै कार्यालयबाट माटो परीक्षण सेवा विस्तार गरिएको छ । “कहाँ कुन, खालको माटोमा के बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने बारेमा किसान जानकार हुनुपर्छ”, मन्त्री केसीले भने, “त्यसैले मन्त्रालयले पनि माटो परीक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।”