
नवलपरासी। पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरुले कृषि क्षेत्रको प्रवद्र्धनका लागि शीतभण्डार स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार नवलपरासीको प्रतापपुर गाउँपालिका ८, पिपरपातीमा भएको नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभामा सहभागी किसानहरुले यस्तो जोड दिएका हुन् ।
लखु यादवको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले यहाँका किसानहरुको मागलाई ध्यानमा राख्दै आफूले शीतभण्डार निर्माणका लागि पहल गर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का कृषि सचिव यमनारायण देवकोटा, प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, कादिर अलि अन्सारी, सुदामा कोइरी, सँगालो साना किसान संस्थाका अध्यक्ष धनबहादुर गुरूङलगायतले किसानहरुको हकहितको पक्षमा बोलेका थिए ।
संघमा प्रतापपुर र सुस्ता गाउँपालिकामा करिब ८ सय ८० घरधुरी केरा कृषक रहेका छन् ।