भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए ।

विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप सिकाइ केन्द्र स्थापना गरेको छ । केन्द्रमार्फत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्राध्यापकले विशुद्ध आँपको मात्र अनुसन्धान गर्नेछन् । वर्षेनी आँपको उत्पादन ओरालो लाग्दै गएपछि विश्वविद्यालयले आँपको अनुसन्धानमा जोड दिएको संयोजक श्रेष्ठले बताए ।

रोगकिरा, परम्परागत खेती प्रणालीलगायत समस्याले आँप खेती व्यवसायीकरण हुन नसकेपछि विश्वविद्यालय अनुसन्धानमा जुटेको उनको भनाइ छ । नेपालमा पाइने फलफूलमध्ये सर्वाधिक रुचाइने फलफूलमा आँप पर्दछ । यसको माग पनि बढ्दो छ तर नेपालमा आँपको उत्पादन भने वर्षेनी घट्दो छ । उत्पादन क्षेत्र बढे पनि उत्पादकत्व घट्दै गएपछि यसको अनुसन्धान शुरु गरेको श्रेष्ठले बताए ।

नेपालमा पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार आँपको उत्पादन क्षेत्र बढेर ३८ हजार ३५३ हेक्टर पुगेको छ तर उत्पादकत्व भने घटेर प्रतिहेक्टर ७।०५ मेट्रिक टन मात्रै छ । उत्पादकत्व घट्दै गएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी अनुसन्धानकर्तासँग सहकार्य शुरु गरेको छ ।

विश्वविद्यालयले आफ्नो जीवननै आँपको अनुसन्धानमा समर्पित गरेका थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता बोलाएर प्राध्यापक, विद्यार्थी, किसानलाई प्रशिक्षण दिएको छ । थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता डा राभी, डा जेट, डा लोपले प्रशिक्षण दिइरहेका छन् । सोमबारदेखि शुरु प्रशिक्षण बिहीबारसम्म चल्नेछ । प्रशिक्षणमा रामपुर क्याम्पसका प्रध्यापक, विद्यार्थी, नार्कका वैज्ञानिक र कृषि मन्त्रालयअन्तर्गतका कर्मचारी सहभागी छन् ।

अन्तर्राष्ट्रियस्तरको यस्ता कार्यशालाले नेपालमा आँपखेतीमा देखिएका समस्याको समाधान र नियन्त्रणबारे व्यावहारिक ज्ञान प्रदान गर्ने आइफा परियोजनाका कन्ट्री डाइरेक्टर अमर थिङले बताए । नेपालमा पहिलोपटक आयोजना गरिएको सो कार्यक्रमले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग पु¥याउने उनको भनाइ छ ।

नेपालमा हाल ६३ जिल्लामा आँप खेती गरिन्छ तर नेपालमा एउटै बोटबाट वर्षेनी उत्पादन गर्न सक्ने अवस्था छैन । नेपालको आँपमा एक वर्ष बिराएर फल लाग्ने भएका कारण उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । सुक्ष्म अनुसन्धान र नयाँनयाँ प्रविधि भित्र्याउन सकिए नेपालमा आँप खेतीको राम्रो सम्भावना रहेको थाइल्याण्डका आँप अनुसन्धानकर्ताको भनाइ छ । क्यासेसर्ट विश्वविद्यालय थाइल्याण्डका अनुसन्धानकर्ता डा राभीले नेपालको मौसमअनुसार धेरै मात्रामा आँप उत्पादन गर्न सकिने बताए ।

नेपालमा फलफूल उत्पादनको कूल क्षेत्रमध्ये ३१ प्रतिशत आँपले नै ओगटेको छ तर यसको पूर्णरुपमा व्यवसायीकरण हुन सकेको छैन । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार सन् २०१३(१४ मा करीब रु २२ करोडको १३ हजार ३५३ मेट्रिक टन आँप आयात गरिएको छ । मुख्य गरी सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, कपिलवस्तु, सुनसरी, झापा, मोरङ र पहाडी जिल्ला काभ्रे र धादिङमा आँप खेती हुने गरेको बताइएको छ ।