ललितपुर। पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसम बदद्लिएको छ । बिहीबारबाटै प्रभावित भएको मौसम आइतबारसम्म नखुल्ने मौसमविद्हरुले जनाएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार आज शुक्रबार पश्चिमका धेरै स्थान र मध्य तथा पूर्वका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने भएको छ । काठमाडौं उपत्याका पनि हल्का वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा हिमपात भएको छ । मौसम बद्लिएसँगै देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार :

फाल्गुन ०३ गते (शुक्रवार)

दिउँसो : देशभर सामान्यतया बदली रहने देखिन्छ । पश्चिमी भू-भागका अधिकांश स्थानहरूमा र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रहने देखिन्छ पश्चिमी भू-भागका अधिकांश स्थानहरूमा र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०४ गते (शनिवार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्यतया बदली रहने देखिन्छ । पश्चिमी भू-भाग र पूर्वी तथा मध्य नेपालका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमी र मध्य भू-भागमा अंशिक बदलि र पूर्वी भू-भागमा सामान्य बदलि रहने देखिन्छ । पूर्वी तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

फाल्गुन ०५ गते (आइतवार)

दिउँसो : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |