
ललितपुर। यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ५० हजार वटा गुलाफ आयात गरिएको छ। गएको वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो। बजारमा माग बढेकाले भारतबाट यस वर्ष गएको बर्ष १ लाख २५ हजार वटा आयात गरीएकोमा यसपाली थप २५ हजार वटा फूल आयात गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ।
दिवसमा खपत हुने अनुमान गरिएको दुई लाख वटामध्ये एक लाख ५० हजार बाहिरी देशबाट ल्याइएको र ५० हजार नेपालको उत्पादन रहेको एशोसियसनका अध्यक्ष कुमार कसजुश्रेष्ठले जानकारी दिए। एशोसिएसनका अध्यक्ष श्रेष्ठका अनुसार गुलाफ फूलको यस वर्ष मूल्य करिब १२ प्रतिशतले मात्रै वृद्धि भएको छ । गएको वर्ष प्रतिगुलाफ ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ।
गएको बर्ष प्रतिओटा गुलाफको ५० देखि एक सय रुपैया परेको र यसपाली पनि मुल्य समान नै रहेको भएपनि सजावटका आधारमा १२ प्रतिशत सम्म बढेको उनले बताए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ। नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ। आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ। गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ।
गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।