
ललितपुर। काठमाडौं उपत्यकासहितका जिल्लामा संचालित होटल, रेस्टुरेन्ट तथा कोल्डस्टोरहरूको अनुगमन गर्न सरकारको संयोजकत्वमा पोल्ट्रि व्यवसायीहरूसमेत संलग्न हुने गरी कार्यदल गठन गर्ने भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रको दाना उद्यमी, ह्याचरी उद्यमी, कुखुरापालक किसान, कोल्डस्टोर व्यवसायी तथा चल्ला–दाना वितरककोे संयुक्त भेलाले कार्यदल गठन गर्ने निर्णय गरेको हो । भारतबाट अवैधरूपमा भित्रिएको तयारी मासु तथा मासुजन्य पदार्थ अनुगमन गर्न सरकारको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिको हो ।
भेलाले जिउँदो ब्रोईलर कुखुरा तथा चल्ला चेकजाँच गर्ने सरकारबाट सम्बन्धन प्राप्त भेटेरीनरी डाक्टरलाई नाकाबाट खुलेआमरूपमा आयात भइरहेको कुखुरा तथा चल्लाको नियमित चेकजाँच गरेर मात्र भेटेरीनरी सिफारिस गरिदिन अनुरोध गर्ने र भेटेरीनरी एसोसिएसनलाई सो कार्य गर्न गराउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
भेलाका निर्णय पूर्णरूपमा पालना गर्न पशुसेवा विभागका महानिर्देशक एवं मातहतका अन्य विभागीय प्रमुखसँग छलफल गरी समस्या समाधान गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णयसमेत गरिएको छ ।