चितवन। कुखुराको दानाको मूल्य निरन्तर उकालो लाग्दै गर्दा अण्डाको मूल्य भने दिन प्रतिदिन घट्न थालेको छ । विगत तीन महिनाको अवधिमा दानाको मूल्य तीनपटक बढेर प्रति ५० केजी ३५० रुपियाँ पुगेको छ ।

अण्डाको मूल्य झरेर प्रतिक्रेट (३० वटा अण्डा) २३५ रुपियाँभन्दा कममा बिक्री भइरहेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले दिएको जानकारीअनुसार दाना उद्योग सङ्घको हालैको भेलाले ५० किलोग्राम तौल भएको प्रतिबोरा दानामा १५० रुपियाँ वृद्धि गरेको हो । सङ्घले विगत तीन महिनामा तीन पटक नै दानाको मूल्य बढाएको छ । दाना बनाउने कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य अत्यधिक वृद्धि भएकाले दानाको मूल्य वृद्धि गर्नुपरेको सङ्घको दाबी छ ।

दाना उद्योगले गत मङ्सिरमा ७५ रुपियाँ, पुसमा १२५ र माघमा १५० रुपियाँ प्रतिबोरा दानाको मूल्यवृद्धि गरेको हो । दानाका लागि आवश्यक मकैको मूल्य तीन महिनाको अवधिमा बढेर ४० रुपियाँ प्रतिकिलोग्राम पुगेको छ भने भटमासको पिना ५५ रुपियाँबाट बढेर ६५ रुपियाँ प्रतिकिलोग्राम पुगेको छ ।

दानाको मूल्य आकाशिँदै गर्दा अण्डाको मूल्य भने ओरालो लागेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अहिले कृषकले प्रतिअण्डा आठ रुपियाँदेखि आठ रुपियाँ पच्चीस पैसामा पाउने गरेका छन् । यो दरलाई हेर्ने हो किसानले अण्डामा प्रतिगोटा दुई रुपियाँ घाटा बेहोरिरहेका छन् ।

नेपाल दाना उद्योग सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तिलचन्द्र भट्टराईले दाना उत्पादनका लागि भारतबाट कच्चा पदार्थ आयात गर्नुपर्ने र सरकारले तयारी दाना र कच्चा पदार्थलाई बराबर भन्सार शुल्क लगाइदिएका कारण नेपाली बजारमा दानाको मूल्य बढेको बताउनुभयो ।उहाँले कुखुरापालन व्यवसायको उन्नति चाहने हो भने सरकारले यसको बजार मूल्य तोक्ने र कृषकलाई सहुलियत दरमा लगानी गर्ने अवसर मिलाइदिन आवश्यक रहेको बताउनुभयो ।

चितवन जिल्ला कुखुरापालनका लागि नेपालकै अग्रणी जिल्ला मानिन्छ । नेपालभर कुखुरापालन क्षेत्रमा भएको लगानीमध्ये ५० प्रतिशतभन्दा बढी लगानी चितवन र यसको आसपासको क्षेत्रमा हुने गरेको छ ।