काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले चावहिल मालपोत कार्यलयको निरीक्षण गरेकी छन् । झन्डावाल गाडी मन्त्रालयमै बिसाएर मास्कले मुख छोपी मालपोत पुगेकी मन्त्री अर्याललाई कतिपय सेवाग्राहीले चिन्दै चिनेनन् । सेवा लिन पर्खिरहेका सर्वसाधारणमात्र नभई कार्यालयका कर्मचारीले समेत मन्त्री आएको सुइँको पाएनन् ।

कार्यालय समय सुरु हुनेबित्तिकै मालपोत पुगेको मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरुको छड्के निरीक्षण गरेको थियो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित अनुगमनमा गएकी मन्त्री अर्यालको समूहले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ । निरीक्षणका क्रममा सेवाग्राहीले भन्दा पनि लेखापढी व्यवसायीले आफ्नो व्यवसाय संकटमा परेको बताएका थिए ।

विशेषतः मन्त्रालयले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैँले भर्नसक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेको उनीहरूको गुनासो थियो । अनुुगमनका क्रममा कर्मचारीले अनलाइन प्रणालीले काम गर्न सहज भए पनि अचानक सर्भर डाउन भइदिँदा सेवाप्रवाह चुस्त हुन नसकेको गुनासो गरेका थिए । त्यस्तै सिस्टम अद्यावधिक नहुँदा सेवाग्राहीलाई सहज ढंगबाट सेवाप्रवाह गर्न नसकिएको गुनासो उनीहरूको थियो । जवाफमा मन्त्रीले भनिन्– “अनलाइन सुरू गरेपछि सर्भरका कारणले सेवामा समस्या आयो, सेवा दिन सकिएन भन्ने कुरा आएको छ । थप तालिमको आवश्यकता रहेको देखियो । सर्भरसँग जोडिएर आउने समस्याको समाधानका निम्ती मन्त्रालयले थप तालिमको प्रवन्ध मिलाउने छ ।”

अनुुगमनपश्चात् मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने मन्त्रालयको मूल लक्ष्य भएको बताउँदै संरचनागत सुधारमा जोड दिने बताएकी थिइन् । अनुुगमनका क्रममा कामको प्रकृतिअनुसार मालपोत कार्यालय उपयुक्त स्थानमा सार्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ ।