
ललितपुर। साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडले २० हजार मेट्रिक टन चिनी खरिद गर्ने भएको छ । कर्पोरेसनले स्वदेशी चिनी उद्योगबाट २० हजार मेट्रिक टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । साल्ट्र ट्रेडिङ कर्पोरेसनका व्यवस्थापक ब्रजेशकुमार झाले स्वदेशी चिनी उद्योगको मागअनुसार साल्ट्र ट्रेडिङले चिनी खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
सरकारले चिनी आयात गर्न बन्द गरेपछि साल्ट्र ट्रेडिङ कर्पोरेसनलगायत स्वदेशी चिनी उत्पादन उद्योगसँग मात्र खरिद गर्नुपर्ने बाध्यता चिनी व्यापारीलाई रहेको छ । सरकारले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नका लागि चिनी आयातमा रोक लगाएको थियो । झाका अनुसार साल्ट्र ट्रेडिङ कर्पोरेसनसँग हाल करिब ८ हजार मेट्रिक टन चिनी स्टक रहेको छ ।
जुनसुकै बेला पनि चिनीको मूल्य र माग बढ्न सक्ने भएकाले पनि न्यूनतम २० हजार मेट्रिकटन चिनी स्टक राख्नुपर्ने भएकाले खरिद प्रक्रिया अघि बढाइएको साल्ट्र टेड्रिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमार भण्डारीले जानकारी दिए । उनले सरकारले तोकेकै मूल्य र मागअनुसार नै चिनी खरिद गर्न लागेको बताए ।
स्वदेशी चिनी उद्योगीसँग चिनी खरिद गर्न सूचनामार्फत बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । ‘अहिले सरकारले पनि विदेशबाट चिनीको आयात प्रतिबन्ध गरेको अवस्था भएको बताउँदै उनले भने, ‘जुनसुकै बेला पनि माग व्यवस्थापन गर्न कम्तीमा २० हजार मेट्रिक टन चिनी स्टक राखेनौं भने उद्योगीले कृत्रिम अभाव देखाएर चिनीको प्राइस बढाउन सक्छन् ।’
सरकारी स्वामित्वको साल्ट्र टेडिङले आमउपभोक्ताको बजार हेरेर एक महिनाभित्र चिनीको खरिद गरिसक्ने जनाएको छ । सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी चिनी उद्योगीले उत्पादन लागत बढेको बहाना बनाउँदै चिनीको मूल्य बढाउन माग गर्दै आएका छन् । नेपाली बजारमा मासिक औसत २० हजार मेट्रिकटन चिनी खपत हुने गरेको छ ।