
ललितपुर। नेपालमा गत आर्थिक वर्ष २०७४/७५ मा १४ करोड ४२ लाख रुपैयाँको ओखर आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ओखरमा आत्मनिर्भर हुने सम्भावना हुँदाहुँदै पनि नेपालमा ओखर आयात बढ्दो छ । गत आवमा ६ सय २ मेट्रिक टन ओखर आयात भएको केन्द्रको तथ्यांक छ ।
केन्द्रका अनुसार गत आवमा चीनबाट २ करोड ३९ लाख, भारतबाट ८ करोड १४ लाख, चिलीबाट २६ लाख, अमेरिकाबाट ३ करोड ५९ लाख र यूएईबाट १ लाख रुपैयाँको ओखर आयात भएको छ । कुल ओखरको मागमा आन्तरिक उत्पादनको हिस्सा करीब ९३ प्रतिशत छ । आन्तरिक उत्पादनलाई अपेक्षित रूपमा बढाउन नसक्दा आयात बढिरहेको छ ।
नेपालको हिमाली र उच्च लेकाली भागहरूमा प्रशस्तमात्रामा ओखर उत्पादन हुने गर्दछ ।
मुलुकको ओखर उत्पादन हुने क्षेत्रमध्ये करीब ४२ प्रतिशत क्षेत्रफलमा मात्र ओखर खेती सीमित छ । बाँकी ५८ प्रतिशत क्षेत्रफलमा ओखर खेतीको विस्तारको सम्भावना छ । यो सम्भावित क्षेत्रमा ओखर खेती विस्तार गर्ने हो भने नेपाल ओखरमा आत्मनिर्भर मात्र नभई निर्यातकर्ता देश पनि बन्न सक्ने देखिन्छ ।