वीरगञ्ज। यस वर्ष चिनी उद्योगले माघको १ गतेदेखि उखु क्रसिङ शुरू गर्ने भएका छन् । महोत्तरीको बर्दिवासमा बुधवार चिनी उद्योगी र उखु उत्पादक किसानको भेलाले यस्तो निर्णय गरेको हो ।

चालू आर्थिक वर्ष २०७५/७६ का उखु र चिनीको मूल्य निर्धारण भएलगत्तै चिनी उद्योग सञ्चालनको तारतम्य मिलेको हो । उखुको मूल्य निर्धारणमा भएको ढिलाइका कारण उद्योग सञ्चालन अन्योलमा परेको थियो । समयमा क्रसिङ नहुँदा खेतमै उखु सुक्न लागेको भन्दै किसान चिन्तित थिए ।

नेपाल चिनी उद्योग संघका उपाध्यक्ष राजेश केडियाले माघको १ गतेदेखि क्रसिङ शुरू हुने बताए । ‘उद्योगी र किसानको छलफलमा क्रसिङ शुरू गर्ने सहमति भएको छ । अब सबै उद्योगले उत्पादन शुरू गर्छन्,’ केडियाले भने । सरकारले यो वर्षका लागि उखुको मोल प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । यसमध्ये चिनी उद्योगले ४७१ रुपैयाँ २८ पैसा र बाँकी भ्याट फिर्ताबापत सरकारले सीधै किसानलाई दिने भएको छ ।

भेलामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा, मोरङ र नवलपरासीका करीब सय किसान सहभागी थिए । भेलामा सहभागी किसानले सुदूरपश्चिमका किसानलाई सरकारी दर उपलब्ध नगराइएको भन्दै विरोध व्यक्त गरेका थिए । कञ्चनपुरका महाकाली र बागेश्वरी सुगर मिलले प्रतिक्विन्टल ३८५ रुपैयाँमात्र दिएको भन्दै सरकारले तोकेको दरमा भुक्तानी दिन उद्योगीको ध्यानाकर्षण गराएका छन् ।

चिनी उत्पादकले विगत वर्षको मूल्यमा समेत उखु खरीद गर्न नसक्ने बताउँदै आएका थिए । अघिल्लो वर्ष उखुको मूल्य क्विन्टलको ५३१ रुपैयाँ २० पैसा थियो । यो वर्षका लागि सरकारले उखुको मूल्य निर्धारण गरेलगत्तै सरकारले उद्योगीसँग चिनीको मूल्य प्रस्ताव मागेकोमा प्रतिकिलो कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा प्रस्ताव गरिएको केडियाले बताए । यस वर्षका लागि सरकारले उद्योगीको प्रस्तावअनुसार चिनीको मूल्यमा समर्थन गर्ने बताइएको छ ।

उद्योगीले गत वर्ष प्रतिकिलो चिनी ७० रुपैयाँसम्ममा बेचेका थिए । सस्तो चिनी भित्रिएपछि प्रतिकिलो ५० रुपैयाँमा पनि विक्री गर्नुपरेको र गत वर्षको चिनी अझै गोदाममा थन्किएको दाबी उद्योगीहरूको छ ।