ललितपुर। राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ३‍.३३ प्रतिशत ब्याजदरमै प्रमाणपत्र धितोमा कर्जा दिन सुरु गरेको छ । बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रसँग सम्बन्धित परियोजना धितोमा प्रदान गरिने कर्जाको वितरण आजबाट सुरु गरेको हो ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कलंकी शाखाबाट कर्जाको लागि आवेदन दिएका विपी तन्दुरीका सञ्चालक भीमप्रसाद अधिकारीलाई शिक्षित युवा स्वरोजगार र रजनी आयुलाई उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको चेक हस्तान्तरण गरेर कर्जा कार्यक्रमको सुरुवात गरेका थिए ।

बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जामा ३.३३ प्रतिशत र महिला उद्यमशीलता कर्जामा २.३३ प्रतिशत कर्जासहित अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध गराउनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको हाल आधार ब्याजदर ६.३३ प्रतिशत छ । त्यसमा २ प्रतिशतसम्म जोखिमबापत प्रिमियम थप गर्न पाउने नियम छ । सरकारले त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जाको हकमा ५ प्रतिशत ब्याज अनुदान दिँदा ऋणीले क्रमशः २.३३ प्रतिशत र ३.३३ प्रतिशत कायम रहन गएको हो ।