बागलुङ। बागलुङ नगरपालिका–८, सिगानाका टोपबहादुर खड्का, तरकारीको बिउ बेचेर वर्षेनी लाखौंको आम्दानी गर्ने कृषक हुन् । उनले काउली र काँक्रोको बिउ उत्पादन गर्ने गर्दछन् । गतवर्ष १५० किलो काउलीको बिउ उत्पादन गरेर विक्री गर्दा रू। १० लाख आम्दानी गरेको सुनाउँदै उनी भन्छन्, ‘अझै ३० किलो जति बाँकी छ ।’ काउलीको बिउ प्रतिकिलो ८ देखि १० हजार रुपैयाँसम्ममा विक्री हुने उनी बताउँछन् ।

खड्काले स्थानीय जातको ‘ज्यापू’ काउलीको बिउ उत्पादन र विक्री गर्दै आएका छन् । काउलीपछि उनकोमा धेरै उत्पादन हुने काँक्राको बिउ हो । यही वर्ष ४० किलो काँक्राको बिउ बेचेको उनले बताए । प्रतिकिलो पाँच हजार रुपैयाँसम्ममा काँक्राको बिउ विक्री हुन्छ । ‘काँक्रामा भक्तपुर लोकल बिउ उत्पादन गर्छु,’ खड्काले भने, ‘यसको उत्पादन राम्रो छ, माग पनि बढी छ ।’ खड्काले उत्पादन गरेको काउलीको बिउ काठमाडौं र चितवनका साथै तराईका अन्य जिल्लासम्म पुग्छ ।

काँक्राको बिउका लागि पनि बाहिरका ठूला व्यापारीबाट माग आउँछ । बागलुङकै अन्य ठाउँ र छिमेकी जिल्लाका किसानले समेत उनीसँग बिउ किन्ने गर्छन् । ‘ठूला व्यापारीसँग कारोबार हुन्छ,’ खड्काले भने, ‘उनीहरुले प्याकेजिङ गरेर बजार पठाउँछन् ।’

उनले बेच्ने ज्यापू काउली र भक्तपुर काँक्राले ७० देखि १०० दिनमा उत्पादन दिन्छ । बिउको बजारीकरणमा सरकारले सघाउनुपर्ने खड्काको भनाइ छ । ‘बजारको सुनिश्चितता हुनसके बिउमा राम्रो आम्दानी छ,’ उनले भने ।

छिटो र धेरै फल्ने नाममा गुणस्तरहीन बिउलाई निरुत्साहित गर्दै स्थानीय जातको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिदैं खड्काले केही वर्ष अघिसम्म प्याज, मूला, गाँजर, गोलभेंडालगायत अन्य तरकारी बालीको बिउसमेत उत्पादन गर्दै आएको बताए ।

पछिल्लो समय काउली र काँक्राको बिउ उत्पादनमा मात्र उनी केन्द्रित छन् । ‘बिउ उत्पादन विसं २०४६ देखि शुरु गरेको हुँ,’ खड्काले भने, ‘पछि उत्पादन बढाउँदै लगें ।’ कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट उनले शुरुमा बिउ उत्पादनको सीप सिकेका हुन् ।

बिउ उत्पादनका लागि तत्कालीन कृषि विकास कार्यालय बागलुङबाट पनि उनले विभिन्न तालिम, प्रविधि र अनुदान पाएका थिए । ६० वर्षीय खड्काले बिउसँगै ताजा तरकारी पनि उत्पादन गर्दै आएका छन् । जिल्लामै सफल र अगुवा किसानको रुपमा परिचित उनले पाँच रोपनी क्षेत्रफलमा सुन्तलाखेती पनि गर्दै आएका छन् ।