ललितपुर। सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ । जाँगरिला, इच्छुक र बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने कृषि सम्बन्धि तालिम दिन लागेको हो ।
बेरोजगार युवालाई कृषिमा गोलबद्ध हुन आग्रह गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न सो निर्देशिका लागू गर्न लागेको मन्त्रालयले जनाएको छ ।
तालीम बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने, किसानको पहुँच अनुसन्धान स्थल र वैज्ञानिकसँग पु¥याउने र निर्वाहमुखी कृषिलाई परिवर्तन गरी व्यवसायिक र नाफामूलक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको कृषि, सहकारी तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिनुभएको छ ।
तालीममा खाद्यान्न तथा नगदेबाली, फलफूल, तरकारी, फूल र मसला बाली, पशुपक्षीपालन, पशु स्वास्थ्य, डेरी तथा मासु प्रविधि, चरन र घाँसेबाली, कृषि वन, च्याउ उत्पादन, मौरी, माछापालनसम्बन्धी विषयमा प्रशिक्षण गरिने जनाईएको छ ।
माटो र सिँचाइ, किट, बालीरोग विज्ञान, खेती प्रणाली, दलहन, तेलहन, औद्योगिक बाली, खाद्य विज्ञान, पोष्ट हार्वेष्ट, कृषि यान्त्रिकीकरण, जैविक र प्राङ्गारिक, आइपिएम प्रविधि, व्यावसायिक योजना, मूल्य शृङ्खला, उद्यमशीलता, विकास र बजार व्यवस्थापनका बारेमा तालिममा जानकारी दिइनेछ । सहभागी इच्छुक युवाले स्थानीय निकायको वडाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुखबाट बेरोजगार युवा हो भनी सिफारिस गरेको हुनुपर्ने प्रावधान निर्देशिकामा छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका किसान अतिथि घरबाट आवासीय तालीम दिन लागिएको हो । सातदेखि १५० दिनसम्म, १८ वर्ष पूरा भई ४५ ननाघेका युवा तालीममा सहभागी हुनसक्ने छन् ।
प्रशिक्षार्थी छनोट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षतामा गठित समितिले गर्ने व्यवस्था निर्देशिकामा छ । अन्य सदस्यमा राष्ट्रिय किसान आयोग, उद्योग वाणिज्य महासङ्घ, बाली तथा बागबानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धान र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रतिनिध समावेश हुनेछन् ।
सहभागी हुन आवेदन शुल्क लाग्ने छैन भने भर्ना शुल्क केन्द्रीयस्तरमा रु ५०० प्रदेश र स्थानीयस्तरमा रु १०० तोकिएको छ । प्रशिक्षार्थीलाई खाना, खाजा र आतेजाते खर्च, आवास, एप्रोन, स्टेसनरी, र आवश्यक अन्य सामग्री नार्कनै उपलव्ध गराउने जनाएको छ ।