काठमाडौं। कुखुराको अण्डा कति समयसम्म खानयोग्य हुन्छ ? यो जिज्ञासा तपाईमा पनि होला । तर यसको सही जवाफ पाउन मुस्किल छ । खाद्य वस्तुहरुको गुणस्तर मापन गर्ने र ती वस्तु खानयोग्य छन्/छैनन् भनेर यकिन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग पनि यसको ठोस जवाफ छैन ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार विभागले हालसम्म अण्डा सम्बन्धी कुनै स्पष्ट मापदण्ड बनाएको छैन । ‘अण्डाको मापदण्ड भारतमा पनि बन्दै छ, हामीले पनि बनाउन लागेका छौँ,’ वस्तीले भने ।

अण्डालाई पानीमा डुबाउँदा डुब्यो भने ताजा र डुबेन भने सडेको अथवा बिग्रिएको भनेर चिन्न सकिने विभागको भनाइ छ । त्यस्तै, मैनबत्ती बालेर हेर्दा पहेँलो भाग बीचमा छ भने गुणस्तरको र छेउतिर सर्दै भएको भए बिग्रन लागेको भनेर छुट्याइन्छ । अण्डको सेतो भाग धमिलो भएमा गुणस्तरको तथा पानी जस्तै सफा हुँदै गयो भने बिग्रन लागेको भनेर बुझ्नुपर्ने हुन्छ । बिग्रने अण्डाभित्र हावाको मात्रा बढ्दै जाने विभागको भनाइ छ ।

जाडोमा १ महीना र गर्मीमा १५ दिन अण्डा केही हुँदैनः उत्पादक संघ
अण्डा उत्पादन भएको २/३ दिनमै होलसेलले लाने र जाडोमा १ महीना तथा गर्मीमा १५ दिन अण्डा केही नहुने नेपाल अण्डा उत्पादन संघका अध्यक्ष त्रिलोचन कँडेल बताउँछन् । ‘घाममा राखेर हेर्दा पहेँलो भाग पग्ले जस्तो देखिने, भित्र कालो हुने, हल्लाउँदा भित्र हल्लिने, आकार हेर्दा ठूलो देखिएता पनि तौल कम देखिनु अण्डा बिग्रीएको शंकेत हो,’ कँडेलले भने ।

अण्डाको मूल्य र गुणस्तरमा ठगीः उपभोक्ता
अण्डाको सम्बन्धमा नियमनकारी निकायको बेवास्ताका कारण उपभोक्ताहरु ठगिइरहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालको भनाइ छ । मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रहरीले मुलुकी अपराध संहिता अनुसार कारबाही नगर्दा उपभोक्ता अण्डाको मूल्य र गुणस्तरमा ठगिने गरेको बताए ।

नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले महँगो मूल्यमा दशैंमा ल्याएको अण्डा व्यापारीले अहिले पनि महँगो मूल्यमै बेच्दै आइरहेको बताए । सरकारका सम्बन्धित निकायले यस विषयमा तत्काल अनुगमन र नियमन नगर्दा व्यापारीले मनोमानी गरिरहेको उनको भनाइ छ ।

समाचार स्रोत : आर्थिक अभियान